हुप्सेकोटको रुद्रपुरगढीलाई पर्यटकीय क्षेत्र बनाउन ४ करोड बजेट

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका रुद्रपुरगढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ४ करोड १६ लाख बजेट वियोजन गरेको छ ।
हुप्सेकोट गाउँपालिका र संघिय सरकारको आधा आधा बजेटमा रुद्रपुरगढी पर्यटकीय विकास कार्यक्रम यसै आर्थिक वर्षबाट सञ्चालन हुन लागेको गाउँपालिको अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् ।
नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने रुद्रपुरगढीसहितका यस आसपासका क्षेत्रलाई समेटी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको हो ।
गाउँपालिकाले सेनकालीन इतिहाससँग जोडिएको रुद्रपुरगढीसहित हुरहुरेमा रहेको गोलपोखरी शान्तिपार्कको विकासका लागि यसअघि नै योजना अगाडि बढाएको थियो ।
सेनवंशीय ऐतीहास
रुद्रपुरगढी पाल्पाको सेनवंशीय राजाहरुसँग जोडिएको ऐतिहासिक क्षेत्र हो ।
रुद्रपुरगढीमा सेनकालीन राजाको दरबारका भग्नावशेष, सुरक्षाका लागि वरिपरिबाट खनिएको खाल्डो, सेनाले परेड खेल्ने टुँडिखेल, सुरुङलगायत रहेका छन् ।
ऐतिहासिक महत्वको क्षेत्र भएकाले यसको विकाससँगै प्रवद्र्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र त्यसबाट गाउँपालिकाको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने भएकाले गाउँपालिकाले यस कार्यलाई प्राथमिकतामा राखेको पाण्डेले बताए । विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० तयार गरेर कार्यअघि बढाइने उनको भनाइ छ ।
रुद्रपुरगढी सँगै यहाँको धोवादीको बतासे डाँडा, फलाम खानी क्षेत्र, होम स्टे, महाभारत पर्वत श्रृंखलामा फैलिएको दुर्लभ वन्यजन्तु घोरलको अवलोकन र पोखराको हिमश्रृंखला अवलोकनसँग जोडेर यस क्षेत्रको पर्यटकीय क्षेत्र विकास गर्न सकिने प्रसस्त सम्भावना रहेको छ ।
हिल स्टेशन
रुद्रपुरगढीमै प्रदेशस्तरीय हिल स्टेशनसमेत निर्माण गर्न प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
चौतर्फी रुपमा पर्यटनको विकास गर्न हिल स्टेशन निर्माणको योजना अगाडि सारिएको अध्यक्ष पाण्डेले बताए ।
हिल स्टेशनमा आर्कषक बगैँचा, भ्यु टावर, कोसेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्ट, खेलका पूर्वाधारलगायतका भौतिक संरचना निर्माण गरिने उनले बताए ।
पर्यटन बोर्डले हिल स्टेशनको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० तयार गरेर भर्खर फर्किएको पाण्डेले जानकारी दिए । हिल स्टेशनको निर्माणको लागि पर्यटन बोर्डले रु ४७ करोडे बजेट प्रस्ताव गरेको उनले बताए ।
रुद्रपुरगढी जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले बताए ।
गाउँपालिकाले प्रत्यक वर्ष रुद्रपुर गढी र आसपासको क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको उनले बताए । रुद्रपुरगढीमा पदमार्ग विस्तार, गोलपोखरी शान्तिपार्कमा विभिन्न संरचना निर्माण, लालीगुराँस संरक्षित क्षेत्रलगायतका काम भइरहेको उनले जानकारी दिए । यसबाट नवलपुरको पहाडी क्षेत्रको पर्यटनको माध्यमबाट विकासमा टेवा पुग्ने अपेक्षा लिइएको छ ।
https://www.youtube.com/watch?v=UiQMAxGquO0
लालीगुँरासको संरक्षण
नेपालीको राष्ट्रिय फुल लाली गुराँसको वृक्षारोपण गरेर यहाँ गतबर्षदेखि लाली गुराँसको संरक्षण समेत गरिएको छ । एकीकृत नमुना वस्तीको रुपमा र लालीगुराँस संरक्षित क्षेत्रको रुपमा यहाँ पर्यटकीय क्षेत्रको समेत विकास गरिएको हो ।
अहिले लालीगुँरासको बोटहरुले डाँडा ढाकेको र विस्तारै लालीगुराँस समेत फुल्न थालेको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् ।