बाढीपीडित पत्रकारको व्यथा: अझै आश्रयमा




हरि शर्मा –
परासी । पत्रकार मोहन पौडेल ३ दिनदेखि आफन्तको घरमा आश्रय लिएर बस्दै छन् । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा कोठा भाडामा लिएर परिवारसहित बस्दै आएका पौडेलले खाद्यन्नदेखि लत्ताकपडा, कम्प्युटरलगायतका कुनै पनि सामान स्यार्हान पाएनन् ।

शुक्रबार मध्यरातमा आएको बाढीबाट बँच्न परिवार छिमेकको घरमा शरण लिन पुगे । शनिबार पानी घटेपछि कोठामा पुगेका उनले लगाउने कपडादेखि कुनै पनि सामान सद्दे नपाएको बताए । कोठा सफा गरेपनि चिसोका कारण अझै २÷३ दिन बस्न नसकिने अवस्थामा छ । सुत्ने पलङ, कपडा सबै पूर्ण रुपमा काम नलाग्ने भएपछि अहिले पनि उनी जितपुरका आफन्तको घरमै आश्रय लिएर बसेका छन् ।




पत्रकार केशव पराजुली, टीकाराम गैरे, राजकुमार रेश्मी र गौरीशंकर जयसवाल, रेनुका चौधरीको अवस्थामा पनि त्यस्तै छ । उनीहरुका पनि सबै सामान बाढीले डुबाएर कामै नलाग्ने बनाएको छ । पत्रकार गैरेको परिवारलाई आफन्तले उद्दार गरेर राखेका थिए ।

पराजुली अहिले पनि छतमाथिको भान्सा कोठामा बस्दै आएका छन् । बाढीका कारण कुनै पनि सामान उनीहरुले स्यार्हान पाएनन् । यो पंक्तिकारको अवस्था पनि त्यस्तै छ । एकसरो लुगामा छतमा बसेर ज्यान जोगाउनु प¥यो । खाद्यन्नदेखि सबै सामान कामै नलाग्ने भएका छन् ।

२ दिनसम्म छिमेकीको घरमा आश्रय लिइएपछि सोमबार बिहानदेखि एउटा कोठा सफा गरेर बस्ने व्यवस्था मिलाइएको छ । सबै पत्रकारका सवारीसाधन र सञ्चार सामाग्री बिग्रिएका छन् । सबैभन्दा बढी क्षति व्यहोरेका यी ७ जना पत्रकारसहित जिल्लामा १४ जना पत्रकारहरु बाढीबाट प्रभावित बनेका छन् ।

बाढीबाट सबैभन्दा बढी प्रभावित भएका पत्रकारहरुलाई अहिले खाद्यन्नदेखि सुत्ने समस्या छ । कार्यरत सञ्चारमाध्यमबाट नियमित तलब नपाएका पत्रकारहरुलाई अहिले थप आर्थिकभार थपेको छ ।

सधैं अरुका समाचार लेख्ने पत्रकार आज आफैं समाचार बनेका छन् । तर आफैं समाचार बन्नु भन्दा ठूलो पीडा आफू कार्यरत सञ्चारमाध्यमबाट सहानाभूतिसमेत नआउँदाको रहेको पत्रकारहरुको भनाई छ । बाढीले डुबेको सर–सामान र सरसफाईलाई छोडेर पत्रकारहरुले आफ्नो कर्मलाई भने निरन्तरता दिदैं आएका छन् । पीडित हुँदा हुँदै पनि आफू रेडियोमा पुगेर समाचारको कामलाई निरन्तरता दिदैं आएको पत्रकार राजकुमार रेश्मीले बताए ।‘पीडा त छदैं त तर जनतालाई सुसुचित गराउनु पर्ने जिम्मेवारी भएकाले रेडियोमा समाचार वाचनलाई निरन्तरता दिदैं आएको छु । ’रेश्मी भन्छन् ।

पत्रकार पौडेलले खाने बस्नेको ठेगान नभएर अर्कैको घरमा बस्दै आएपनि कार्यरत सञ्चारमाध्यमले फोन गरेर सोधिखोजी नगर्दा दुःख लागेको बताए । ३५ वर्षदेखि पत्रकारिता गर्दै आएका पत्रकार केशव पराजुली भन्छन् ‘ साथीभाईको नाताले व्यवस्थापकले सोधेपनि अरुले सोधेका छैनन् । ’

जिल्लाको पत्रकार महासंघले पत्रकारहरुको बारेमा सोधिखोजी गरेर क्षति विवरण संकलन गरेपनि प्रदेश र केन्द्रको महासंघले भने अहिलेसम्म सोधिखोजी नगरेको पत्रकारहरुको गुनासो छ । पत्रकारहरुको हकहितका लागि स्थापना भएका संस्थाहरुले पनि वास्ता नगर्दा पीडामाथि पीडा थपिने रहेछ पीडित पत्रकारहरुको गुनासो छ ।

जिल्लामा १४ जना पत्रकारहरु बाढीबाट प्रभावित भएको महासंघ जिल्ला शाखाका सचिव राजकुमार रेश्मीले बताए । पत्रकारहरुको सञ्चार सामाग्रीसहित करिब ३५ लाख बढीको क्षति भएको छ । पत्रकार महासंघको भवनमा रहेका फर्निचर, कम्प्यूटरलगायतका सामान समेत कामै नलाग्ने गरी डुबेको सचिव रेश्मीले बताए ।
भदौं ११ गते राति आएको बाढीले पश्चिम नवलरासीका सबैजसो स्थानीय तह बाढीबाट प्रभावित बनेपनि सबैभन्दा बढी सदरमुकाममा क्षति पुगेको छ ।

 



सम्बन्धित
Loading...