स्थगित भएको दुई महिनापछि गण्डकी प्रदेशसभाको बैठक आह्वान

गण्डकी प्रदेशको स्थगित वर्षे अधिवेशन आह्वान गरिएको छ । दुई महिनाअघि बजेट पारित भएपछि स्थगित गण्डकी प्रदेशसभाको बैठक भदौ २९ गते दिउँसो एक बजे बोलाइएको सचिवालयका सचिव हरिराज पोखरेलले जनाकारी दिए ।
बैठकको कार्यसूची तय गर्न २८ भदौ दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने उनले बताए ।
गत ३० असारमा बजेट पारित भएपछि मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले सुरु गरेका क्रमगत योजनाहरु हटाएको विरोधमा प्रतिपक्ष एमालेले बैठक अबरुद्ध गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो ।
प्रतिपक्ष एमालेले क्रमागत योजनाबाट हटाइएका योजना सुरु नगरेसम्म बैठक चल्न नदिने अडान लिएपछि रकमान्तरबारे छानबिन गर्न एमाले सांसदको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
एमालेले यसअघिको सरकारले संचालनमा ल्याएका योजनाहरु काटेको तथा क्रमागत योजनाहरुमा बजेट विनियोजन नगरेको आरोप लगाउदै सदन सुरु हुने बित्तिकै यी नै विषयलाई जोडतोडले उठाउने तयारी थालेको थियो ।
एमालेको यही बिषयमा सदन अवरुद्ध गर्ने रणनीति बुझेको सत्तापक्षले भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट १४ वटा क्रमागत योजनाहरुलाई पुनः बजेट विनियोजन गर्ने निर्णय गरेपछि बर्खे अधिवेशन आह्वान गरेको हो ।
सरकारले योजनाका लागि बजेटको स्रोतको सुनिश्चितता भएकाले पुनः ती योजनाका लागि २३ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको बताएको छ । बर्खे अधिवेशनमा सरकारले केही विधेयक पेश गर्ने योजना बनाएको छ ।
https://www.youtube.com/watch?v=5EY3fk3fueY&t=1s