नवलपरासी कांग्रेस वडा अधिवेशन : कतै माइन्युट च्याँतियो, कतै उजुरी

हरि शर्मा-
परासी, २० भदौं : पश्चिम नवलपरासी कांग्रेस वडा अधिवेशनको जिल्लाभरको परीणाम अझसम्म पनि आउन सकेको छैन । गुट विवादका कारण ३ दिन बितिसक्दा पनि परीणाम आउन नसकेको हो । गुट विवादका कारण कार्यकर्ताबीच तिब्र विवाद हुँदा कतै माइन्युट च्याँतिका छन् भने कतै परीणामप्रति असहमति जनाउँदै उजुरी परेका छन् । केही वडामा हुन नसकेको चुनाव आइतबार भइरहेको छ ।
जिल्लामा प्रतिनिधि सभा सदस्य एंव कांग्रेस केन्द्रीय सदस्य देबेन्द्रराज कँडेल र संविधान सभा सदस्य विक्रम खनालको दुई गुट छ ।
यसैबीच रामग्राम नगरपालिका–११ मा भएको अधिवेशनमा पराजित भएपछि निर्वाचनको माईन्युट च्याँतिएको छ । सो वडामा सबै पदमा सहमति भएको थियो । वडा सभापतिमा मात्र भएको निर्वाचनमा पराजित उमेदवारका व्यक्तिले माइन्युट च्यातेका हुन् । मत गणना सकिएर घोषणा गर्न जाने क्रममा पराजित उमेदवारका व्यक्तिहरु एक्कासी आवेगमा आएर हातमा बोकेको माइन्युट च्याँतेको मतदान अधिकृत धु्रव आचार्यले बताए ।
सभापतिका उमेदवार भवानी शंकर चौधरीले १८ मत ल्याएर बिजयी भएका छन भने उनका प्रतिस्पर्धि श्रीकान्त कलवारको १६ मत आएको छ । चौधरी खनाल गुटका हुन् भने कलवार कँडेल गुटका हुन् । मत परीणामबारे जिल्लाको निर्वाचन समितिमा जानकारी दिएको आचार्यले बताए ।
यता सुस्ता गाउँपालिक–५ को अधिवेशनमा मनोनयन पत्र दर्ता नगरी निर्वाचन परीमाण घोषणा गरेको भन्दै पार्टी जिल्ला निर्वाचन समितिमा उजुरी परेको छ । निर्वाचनमा बिजयी भएका उमेदवारलाई निर्वाचन समितिले प्रमाण पत्र समेत दिई सकेपछि उजुरी परेको हो ।
दुवै गुटले निर्वाचनमा जाने सहमति गरेपछि चुनाव भएको थियो । बिजयी हुने सबै खनालका गुटका हुन् । तर कँडेल गुटका कार्यकर्ताले प्रकृया पूरा नगरी निर्वाचन गराएको भन्दै उजुरी दिएपछि चुनावबारे अन्यौल उत्पन्न भएको छ । २५ जना क्षेत्रिय प्रतिनिधिमध्ये आरक्षण र केही समानुमातिकका गरी १० क्षेत्रिय प्रतिनिधिमा दुई गुटले सहमति गरेपछि निर्विरोध भएको थियो । वडा सभापति र अन्य १५ जना क्षेत्रिय प्रतिनिधिबीच सहमति नजुटेपछि चुनाव भएको हो ।
दुई गुटको विवादका कारण सुरु दिन निर्वाचन हुन सकेको थिएन । भोलि पल्ट भएको चुनावमा दुवै पक्षका उमेदवारले अबेला भएका कारण मनोनयन पत्र पछि बुझाउने सहमतिमा चुनाव गराएको मतदान अधिकृत अर्जुन पाण्डेले बताए । ‘उमेदवारबापत लाग्ने दस्तुर लिए ।
सबैले मनोनयन पत्र पछि बुझाउँला भनेपछि पार्टीको आन्तरिक कुरा भनेर मैले पनि विश्वास गरे । सहमतिमै भएको हो । नतिजा स्विकार गर्न नसकेपछि अप्ठ्यारोमा पारे । ’पाण्डेल भने । निर्वाचनमा २ सय ७१ मत खसेको थियो । बिजयी हुने र पराजित हुने उमेदवारहरुको मतअन्तर २ सयको हाराहारीमा रहेको पाण्डेले बताए ।
कांग्रेस जिल्ला निर्वाचन अधिकृत बाबुराम पाण्डेले उजुरी आएकोले त्यसबारे के गर्ने भन्ने बारे छलफल हुने बताए । यसैबीच गुट विवादकै कारण जिल्लाको सबै वडाको नतिजा आउन सकेको छैन । कसैले चुनाव गर्ने र कसैले सहमति गर्ने भन्ने विवादले नतिजा आउन ढिला भएको हो । ७ स्थानीय तहमा ७४ वडा छन् । सबै पालिकाहरुको नतिजा आएपनि उजुरीबाहेक रामग्राम नगरपालिकाका ३ वटा वडाको नजिता आउन बाँकी रहेको पाण्डेले बताए ।
गुटकै कारण विवाद हुँदा रामग्राम नगरपालिका वडा नं. १५ र १६ को निर्वाचन आइतबार दिउँसोबाट सुरु भएको छ । जिल्लाबाट १३ सयको हाराहारीमा क्षेत्रिय प्रतिनिधि चयन हुने निर्वाचन समितिले जनाएको छ ।