नवलपुरमा काँग्रेस वडा अधिवेशनको आज, १८४२ जना प्रतिनिधि छनौट हुने




रामकुमार श्रेष्ठ –

नवलपुर । पूर्वी नवलपरासीमा नेपाली काँग्रेसको वडा अधिवेशन आज शुरु भएको छ ।




नवलपुरमा रहेका ९२ वटा वडामा आज अधिवेशन शुरु भएको छ ।
अधिवेशनमा सहमतिको प्रयास भईरहेको र कतिपय वडामा सहमति भईसकेको नेपाली काँग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेले बताए ।

घिमिरेका अनुसार गैडाकोटको वडा नं. २, ५ लगायतका अधिकांश वडामा सहमति भईसकेको छ । त्यसैगरी कावासोती ८ लगायतका वडाहरुमा पनि सहमति जुटि सकेको छ ।

नवलपुरमा नेपाली काँग्रेसको क्रियाशिल सदस्य १६ हजार ५ सय २१ जना रहेका छन् ।
नेपाली काँग्रेस नवलपुरका अनुसार आजको वडा अधिवेशनले १ हजार ८ सय ४२ जना प्रतिनिधि छनौट गर्ने छ ।

गैडाकोट नगरपालिकाबाट ४ सय २० जना, कावासोती नगरपालिकाबाट ३ सय १३ जना, देवचुली नगरपालिकाबाट २ सय ६५ जना, मध्यविन्दु नगरपालिकाबाट २ सय २० जना, बुलिङटार गाउँपालिकाबाट १ सय १० जना, हुप्सेकोट गाउँपालिकाबाट १ सय जना, बौदीकाली गाउँपालिकाबाट ९० जना र विनयी त्रिवेणी गाउँपालिकाबाट १ सय ४५ जना प्रतिनिधि छनौट हुने छन् ।

त्यसैगरी ९२ वटा वडाका वडा सभापति पनि स्वतः प्रतिनिधिमा छनौट हुने, प्रदेश सभा सदस्य र संघीय सभा सदस्यमा उमेद्वार भएका १४ जना र प्रत्येक पालिकाबाट २÷२ जना आरक्षण गरी १६ जना प्रतिनिधि हुने प्रावधान रहेको छ ।

वडा अधिवेशनले गाउँपालिकाका वडाहरुमा २६ सदस्यीय वडा समिति र नगरपालिकाहरुको वडाहरुमा ३२ सदस्यीय वडा समिति छनौट गर्ने छ ।

वडाबाटै छनौट भएका प्रतिनिधिहरु नै सहभागी भई नगरपालिका र गाउँपालिका स्तरका अधिवेशन भदौ २७ गते हुने छ ।

 

त्यसैगरी असोज १ गते प्रदेश सभा निर्वाचन क्षेत्र स्तरको क्षेत्रीय अधिवेशन, असोज ५ गते प्रतिनिधि सभा स्तरको क्षेत्रीय अधिवेशन हुने छ भने असोज १० गते जिल्ला स्तरको अधिवेशन गर्ने तालिका रहेको नेपाली काँग्रेस नवलपुरले जनाएको छ । नवलपुरबाट ५० जना केन्द्रिय प्रतिनिधि छनौट हुने छन् ।
प्रदेश प्रतिनिधि भने कति छनौट हुने अझै तय भई नसकेको नेपाली काँग्रेस नवलपुरले जनाएको छ ।



सम्बन्धित
Loading...