मृतक परिवारले अझै राहत रकम पाएनन्
क्षति विवरण संकलनमा जनप्रतिनिधिको बेवास्ता

हरि शर्मा –
परासी – बाढीबाट क्षति भएको विवरण संकलनमा जनप्रतिनिधिहरुले बेवास्ता गर्दा क्षतिपुर्ति र राहत रकम उपलब्ध गराउन समस्या भएको छ ।
गत भदौं ११ गते पश्चिम नवलपरासीमा आएको बाढीबाट जिल्ला नै प्रभावित भएको थियो । सबैभन्दा बढी रामग्राम नगरपालिकामा मानविय क्षतिसहित अन्य क्षति भएको छ । सोही नगरपालिकाको विवरण समेत अहिलेसम्म नआएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
बाढीपछि स्थानीय तहहरुले विपद् व्यवस्थापन समितिको बैठक बसेर सम्बधित वडा मार्फत क्षतिको विवरण संकलन गर्ने निर्णय गरेका थिए । तर वडाका जनप्रतिनिधिहरुले नै अहिलेसम्म क्षतिको विवरण संकलनमा वास्ता गरेका छैनन् । वडा अध्यक्षहरुलाई पटक पटक अनुरोध गरेपनि ९ वटा वडाको बाहेक अन्यको आउन नसकेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए । विवरण आउन ढिला भएपछि अहिले प्राविधिक र स्वयंसेवक मार्फत विवरण संकलन गर्ने सोँच बनाइएको उनले जानकारी दिए ।
क्षतिको विवरण नआउँदा पीडितहरुलाई क्षतिपुर्ति र राहत रकम वितरणमा समस्या आएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । पूर्णरुपमा घरको क्षति भएकाहरुलाई सरकारले पुनर्निर्माण गरिदिने बताउँदै मिश्रले अहिलेसम्म विवरण नआउँदा सिफारिस गरी पठाउन नसकिएको बताए ।
जिल्लामा ७ स्थानीय तह छन् । रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिकाबाहेक अन्य पालिकाहरुको विवरण आएको छ ।
जिल्लामा मृत्यु भएका परिवारको नाता प्रमाणित गरेर पठाउन पटक पटक अनुरोध गरेपनि अहिलेसम्म नआउँदा उनीहरुलाई समेत रकम दिन नसकिएको मिश्रको भनाई छ । सरकारले मृतक परिवारलाई २ लाखका दरले राहत रकम उपलब्ध गराउँछ । तर एकै परिवारका १ भन्दा बढी मृत्यु भएका जनही १ लाखका दरले रकम उपलब्ध गराउने गरेको छ । रामग्राम नगरपालिकामा एकै परिवारका बाबुछोरासहित ३ जनाको मृत्य भएको छ । खोलामा आएको बाढीमा दाउरा समात्न जाँदा एक जना वेपत्ता भएका छन् ।
विपद् व्यवस्थापन समितिमा बुझाइएको ५ वटा स्थानीय तहमा ४ सय ३४ घर पूर्ण रुपमा नष्ट भएका छन् । ३ हजार ५ सय ९५ घर आंशिक क्षति भएका छन् । १ सय ४२ जना विस्थापित भएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।