मोरक्कोमा नयाँ प्रधानमन्त्री नियुक्त
मोरक्कोमा शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । मोरक्कोका राजा मोहम्मद छैठौँले अजिज अखान्नौचलाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका हुन् ।
मरक्कोमा गत बुधबार तल्लो सदनका सदस्य र स्थानीय तहका प्रतिनिधि चयनका लागि मतदान भएको थियो । निर्वाचनका लागि देशभरी झन्डै एक करोड ७५ लाख आधिकारीक मतदाता रहेका थिए । कोरोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै मतदान केन्द्र तोकिएको र मतदान केन्द्रमा भीडभाड नहुने व्यवस्था गरिएको थियो । तल्लो सदनका लागि देशभरीबाट ३९५ जना छानिने गरी निर्वाचन भएको थियो ।
त्यसैगरी स्थानीय प्रतिनिधिका रूपमा झन्डै ३१ हजार चुनिने गरी निर्वाचन भएको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचनका लागि मोरक्कोका मात्रै झण्डै चार हजार ५०० र विदेशी झण्डै १०० निकायका पर्यवेक्षक खटिएका थिए ।निर्वाचन आयोगले प्रान्तीय परिषद्को निर्वाचन भने यही सेप्टेम्बर २१ र माथिल्लो सदनको निर्वाचन अक्टोबर ५ मा गर्ने तयारी गरेको छ ।
