नवलपुरमा एमालेको शक्ति प्रदर्शन

माधव नेपालसँग पार्टी विभाजन भएपछि नेकपा एमाले नवलपुरले पहिलो पटक शुक्रबार दलदलेमा भेला गरेको छ। शक्ति प्रदर्शनको शैलीमा गरिएको भेलामा नवलपुर भरिका संगिठत कार्यकर्ताहरुलाई उतारेका थिए ।
कार्यकर्ता भेलामा प्रशिक्षण दिंदै नेकपा एमालेका स्थाई कमिटी सदस्य एवं गण्डकी प्रदेश संयोजक किरण गुरुङले नेकपा एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेका माधव कुमार नेपालको पार्टी वि.पी. कोइरालाको समाजबाद जस्तै भएको बताए ।
गुरुङले माधव नेपालको पार्टीले बैज्ञानिक समाजवाद नभई विपीको जस्तो पुँजीबादी समाजबादको आडमा पार्टी निर्माण गरेको बताए। गुरुङले भने– माधव नेपालले एमालेमा छँदा पनि कहिले विचारको राजनिती गरेनन्, र अहिले पनि नेपाली काँग्रेसको पुँजीबादी समाजवाद बोकेर हिंडेका छन् ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्व भुमिसुधार मन्त्री पद्मा अर्यालले गल्ती सच्याएर एमालेमा फर्किन नचाहे माधव नेपाललाई ‘बाई–बाई माधव नेपाल’ भनेर एमालेका नेता कार्यकर्ताले बिदा गर्ने बताईन।
कार्यक्रममा नेकपा एमालेका नेता रबिन्द्र अधिकारी, खगराज अधिकारी, कृष्ण पौडेल, तिलक महत लगायतले बोलेका थिए। पार्वता तिवारीले स्वागत गरेको कार्यक्रमको सहजीकरण जीवन श्रेष्ठले गरेका थिए ।
कार्यक्रम नेकपा एमाले नवलपुरका अध्यक्ष रोशनबहादुर गाहाको अध्यक्षतामा भएको थियो ।
