जनप्रतिनिधिले नै समयमै राजश्व दाखिला नगरेको भन्दै गैडाकोटले थाल्यो छानविन
प्रेम क्षेत्री –

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाको कार्यपालिका बैठकमा जनप्रतिनिधिले राजस्व समयमा दाखिल नगरेको कुरा उठेपछि यथार्थ पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ ।
लामो समयपछि भदौ २८ गते बसेको बैठकमा गैँडाकोट १४ का वडा अध्यक्ष कोकीसरा राना मगरले समयमा नै राजस्वको रकम नगरपालिकामा नबुझाई आफै प्रयोग गरेको भन्ने गुनासो आएपछि सो सम्बन्धमा छानबिन अघि बढेको छ ।
गैँडाकोट १४ भागर क्षेत्रमा निजी क्षेत्रबाट जग्गा मिलानका क्रममा संकलन गरिएको माटो बिक्रि बितरण र त्यसबाट प्राप्त राजस्वको यकिनका विषयमा नगर उप्रममुख एवं राजस्व परामर्श समितिका संयोजकबाट प्राप्त गुनासोलाई हेरी अध्ययन गरि सोका आधारमा छानविन गरि ७ दिनभित्र नगरकार्यपालिकामा प्रतिवेदन पेश गर्न छानबिन समिति गठन गरिएको हो ।
गैँडाकोट वडा नम्बर १२ का वडा अध्यक्ष रहेका नगर कार्यपालिका सदस्य थिरबहादुर थनेतलाई समितिको संयोजक तोकिएको छ ।
नगर कार्यपालिका सदस्यहरु, गैँडाकोट ११ का वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदी, १५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ र नगरकार्यपालिका सदस्य रमेश भट्टचन सदस्य रहेका छन् । समितिले सो विषयमा छानबिन गरिरहेको छ ।
समितिका संयोजक थिरबहादुर थनेतले छानबिन प्रक्रिया अन्तिम चरणमा पुगेकोले प्रतिवेदन तयार गरि बुझाउने क्रममा रहेको बताए ।
उनले घटनाका विषयमा अहिले नै केही भन्न नसकिने बताउँदै सबैकुरा प्रतिवेदनमा उल्लेख गर्ने बताए । छानबिनका क्रममा समयमा राजस्व नबुझाएको, कोभिडका कारण बैंक बन्द भएका कारण ढिला भएको, माटो बिक्रि हुने स्थानको समयमा अनुगमन नभएको, ताकेता नभएका जस्ता कुरा उठेको बताए । नियमानुसार राजस्व नबुझाई ६ महिना सम्म राखेर तिरेका जस्ता कुरा आएको उनको भनाई थियो ।
समितिका अर्का सदस्य गोविन्दप्रसाद सुवेदीले छानबिनका क्रममा वडा अध्यक्षले राजस्वको रकम लिएको देखिएको बताए । तर कोभिड महामारीका कारण समयमा नै बैंकमा जम्मा हुन नसकेको देखिएको पनि उनले बताए ।
सुवेदीका अनुसार वडा अध्यक्षले लिएको रकम लगानी गरेर आम्दानी निकाल्ने समय नभएकोले नियतमा खराबी नदेखिएको तर प्रक्रिया नमिलेको देखिएको हुन सक्ने बताए । उनले प्रतिवेदनमा सबै कुरा खुल्ने बताए ।
गैँडाकोट नगरपालिकाका नगर उप्रममुख एवं राजस्व परामर्श समितिका संयोजक विष्णुकुमारी कंडेलले दैनिक राजस्व दाखिल हुनुपर्ने र असहज परिस्थितिमा बढिमा १ हप्ता ढिला भएपनि दाखिल हुनुपर्नेमा महिनौ सम्म राजस्व आएको नदेखिएपछि राजस्व परामर्श समितिले खोजबिन गरेको बताईन् ।
उनले सचिवबाट हुनुपर्ने काम वडा अध्यक्षबाट समेत भएको पाईएको र राजस्व व्यक्तिले प्रयोग गरेको हो वा होईन भन्ने विषयमा छानविन समितिले प्रतिवेदन पेश गर्ने बताईन् ।
राजस्व हिनामिना भने नभएको उनको भनाई छ । आर्थिक वर्ष ०७५/७६ को आम्दानी असारको अन्तिममा जम्मा भएको १२ लाख सम्मको एउटै भौचर देखिएकोले समयमा नै राजस्व नबुझाई व्यक्तिले प्रयोग गरेको हो की भन्ने देखिएको उनको बुझाई छ ।
गैँडाकोट १४ का वडा अध्यक्ष कोकिसरा रानामगरले भने वडाअध्यक्षलाई डाउन गराउने नियतले यस्ता कुरा उठेको बताईन् । सबै कुरा छानविन समितिको प्रतिवेदनले देखाउने उनले बताईन् । उनले राजस्व बुझाउन केहि ढिला भएको भने स्विकार गरेकी छन् । माटो खरिद कार्यमा स्थानीय युवाहरुको संलग्नता रहेको र उनीहरुले समयमा नै पैसा नतिरेकोले पनि समस्या भएको बताईन् ।
उनीहरुको सहजताका लागि काम गरेको बताउँदै व्यवहारिक हिसाबले काम गर्दा कानुनी हिसाबले नमिलेको हुन सक्ने उनको भनाई थियो । कर्मचारीले पनि जनप्रतिनिधिले जिम्मेवारी लिनुपर्ने बताएपछि आफुले जिम्मा लिएको उनको तर्क थियो ।
३ वर्ष अघि गैँडाकोट १४ भागर क्षेत्रमा निजी क्षेत्रबाट जग्गा मिलानका क्रममा संकलन गरिएको माटो बिक्रि वितरण कार्य अघि बढाईएको थियो ।
पूर्व पश्चिम राजमार्ग निर्माणका लागि चाईनिज सडक निर्माण कम्पनी र स्थानीय युवाहरुको समूहले माटो खरिद एवं बिक्रि गर्दै आएका छन् । सो वापत नगरपालिकाले राजस्व निर्धारण गरि बिक्रि वापतको राजस्व नगरपालिकालाई तिर्नुपर्ने भनेको छ । सोही राजस्व समयमा नतिरि लामो समय पछि तिरेको जस्ता कुरा उठेको हो ।