दसैंको टिकट असोज १० बाट

यातायात विभागले असोज १० देखि अग्रिम टिकट खोल्ने तयारी गरेपनि यस वर्षको वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेरमात्र लामो तथा छोटो दूरीको दसैंको अग्रिम टिकट खोल्नु पर्ने बताएका छन् ।
पछिल्लो समय वर्षाका कारण सडकमा धेरै नै खाल्डाखुल्डी परेको जस्का कारण यात्रुलाई गन्तव्यमा पु¥याउन समस्या पर्ने र यात्र असुरक्षित हुने बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र बुकिङ खोल्ने बताएका छन् ।
सडकको अवस्था एकदमै बिग्रएकाले सडक मर्मत नभएसम्म दसैंको लागि अग्रिम टिकट बुकिङ खोल्न नसक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिब सरोज सिटौलाले बताए । उनले, “सरकारले पहिले सडक मर्मत सम्भार गर्नु पर्छ र त्यस पछिमात्र बुकिङ खुल्ला गर्ने छौं ।”
नेपाल भरिको सडक अस्थायी मर्मत गर्नुपर्छ, अहिले २ घण्टाको यात्राका लागि ६ घण्टा सम्म लाग्ने गरेको अस्थामा तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था नरेको उनको भनाइ छ ।
यातायात व्यवसायीले यहीँ अवस्थामा सडकमा यात्रु लिएर सवार गर्नु जोखिम र चुनैती भएकाले गर्दा सडक मर्मत गर्न सरकारलाई सुझाएको महासंघले जनाएको छ । बिहीबार यातायात व्यवसायी र यातायात व्यवस्था विभाग,काठमाडौं प्रशासन कार्यालय बीच दसैंको अग्रिम टिकट खोल्ने सम्बन्धमा छलफल गर्ने बताइएको छ ।
मोटामोटी असोज १० बाट अग्रीम टिकट बुकिङ खोल्ने व्यवसायीसँग समझदारी भएको छ, तर बिहीबार औपचारी रुपमा छलफल गर्दै छौं विभागका निर्दैशक तथा प्रवक्ता लोकनाथ भुषालले बताए ।
अवरुद्ध राजमार्ग तत्काल खुलाउन माग
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ ।
महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बुधबार साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढ्दै जाने जनाउँदै यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म पु¥याउन अवरुद्ध राजमार्ग तत्काल खुलाउन सरकारसँग माग गरेका हुन ।
“चाडपर्व मनाउन काठमाडौँ उपत्यकाबाट बाहिर जाने र उपत्यकाभित्र आउने यात्रुवाहक सवारीका साधन बढ्न जाने तर निरन्तर वर्षाका कारण उपत्यका बाहिर जाने मुख्य राजमार्ग र ग्रामीण सडक अवरुद्ध हुँदा सवारी सञ्चालनमा समस्या हुने देखिन्छ”, अध्यक्ष कर्माचार्यले भने ।
महासङ्घका महासचिव सरोज सिटौलाले अवरुद्ध सडक दुईतर्फी सञ्चालन नहुँदा दशैँका लागि अग्रिम टिकट बुकिङ खोल्न समस्या हुने बताए ।