सेनेटरी प्याड खरिदमा आर्थिक चलखेल, घटीवालाको बोलपत्र रद्द गरी महँगो दररेटको प्याड खरिद !




माडी नगरपालिकामा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि निःशुल्क वितरण गर्ने सेनेटरी प्याडको खरिदमा आर्थिक चलखेल भएको आशङ्का गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा त्यस्तो सेनेटरी प्याड खरिद गर्दा घटीवालाको बोलपत्र रद्द गरेर महँगो दररेटसहितको बोलपत्र पेश गरेको बोलपत्रदातासँग प्याड खरिद गरेको पाइएको छ ।

घटीवालाको बोलपत्र रद्द गर्दा नगरपालिकालाई ८ लाख २८ हजार ७८० रूपैयाँ बढी व्ययभार परेको महालेखा परीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनले भनेको छ । प्रतिवेदनअनुसार कम दररेट पेश गरेका पाँचवटा बोलपत्रदाताको बोलपत्र रद्द गरेर नगरपालिकाले बढी दररेट पेश गरेको शनिदेव सप्लायर्स काठमाडौँसँग सम्झौता गरी प्याड खरिद गरेको हो ।




छात्रालाई निःशुल्क सेनेटरी प्याडको व्यवस्था गर्न नगरपालिकाले तीनवटा सप्लायर्ससँग प्याडको दररेट मागेर प्रतिथान प्याडको मूल्य ६७ रूपैयाँ दररेट कायम गरेको थियो । उक्त रेटमा २८ हजार २०९ थान प्याड खरिद गर्न १८ लाख ९० हजारको लागत अनुमान तयार गरी सिलबन्दी दरभाउ पत्र आह्वान गरेको थियो । जसमा आठवटा सप्लायर्सले दरभाउ पेश गरेका थिए ।

मेडिसेल्स फर्माले प्रतिप्याकेट २९ रूपैयाँ, जस्मिन हाइजिन प्रोडक्ट विराटनगरले ३१ रूपैयाँ ८५ पैसा, प्यागोडा इन्टरनेसनलले ३५ रूपैयाँ, अभाव इन्टरप्राइजेज ललितपुरले ५१ रूपैयाँ, सेतो हात्ती ट्रेडर्सले ३६ रूपैयाँ ३८ पैसा र शनिदेव सप्लायर्सले ५५ रूपैयाँ दररेट पेश गरेका थिए । अन्य दुईवटा भरतपुरका सप्लायर्सले शनिदेवले भन्दा पनि बढी दररेट पेश गरेका थिए ।

बिड डकुमेन्टमार्फत मात्र प्याडको गुणस्तर यकिन गर्न कठिन भएपछि सबै सप्लायर्ससँग प्याडको नमुना माग गरिएको थियो । प्याडको नमुना परीक्षण गर्दा शनिदेव सप्लायर्सले भन्दा कम दररेट पेश गरेका सप्लायर्सको प्याडमा कपास प्रयोग भएको रेगुलर प्याड र चार लेयर उल्लेख गरेको २४० मिलिमिटर लम्बाइ भएको ‘रफ इनर सर्फेस’ भएको पाइयो ।

शनिदेवले बडिकेयर नामको लाइफ केयर हाइजिन प्रोडक्ट कम्पनीको २८० मिलिमिटर लम्बाइ भएको टाँसिने खालको नेपकिन पेपरको चार लेयर भएको प्याडको नमुना पठाएको थियो । ‘नगरपालिकाबाट कस्तो खालको सेनेटरी प्याड आवश्यक परेको त्यसको गुणस्तर तथा ‘स्पेसिफिकेसन’ तयार नगर्दा सबैभन्दा घटीवालाको बोलपत्र स्वीकृत नगर्दा प्रतिसेनेटरी प्याकेट मूल्य अभिवृद्धि करसमेत २९ रूपैयाँ ३८ पैसा बढी परेकाले ८ लाख २८ हजार ७८० रूपैयाँ नगरपालिकालाई बढी व्ययभार परेको देखियो’, प्रतिवेनदमा भनिएको छ ।

विद्यालयमा अध्ययनरत छात्राहरुको गणना गरेर वार्षिक खपत हुने आधारमा प्याड खरिद गर्नुपर्नेमा सोही वर्ष नगरपालिकाले पुनः शनिदेवसँग नै सोझै प्याड खरिद गरेको महालेखाले भनेको छ । शनिदेवसँग नै दोस्रोपटक दुई लाख ५४ हजार २२४ रूपैयाँको प्याड सोझै खरिद गरेकाले खरिद नियमसम्मत नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

छात्रालाई दिने प्याड कर्मचारीले लिए

छात्राहरुलाई निःशुल्क वितरण गर्ने भनेर खरिद गरिएको सेनेटरी प्याड नगरपालिकामा काम गर्ने महिला कर्मचारीले लिएको महालेखाले बताएको छ । कक्षा ६ देखि १२ सम्म पढ्ने एक हजार ६३३ छात्राका लागि खरिद गरिएको ३२ हजार ६६४ वटा प्याडमध्ये २३२ वटा प्याकेट कर्मचारीले लिएको भनी नगरपालिकाले उल्लेख गरेको छ ।

कर्मचारीले लिए/नलिएको पनि यकिन भएको छैन । कर्मचारीले लिएको भनिएको उक्त प्याडको भर्पाई पेश नभएको महालेखाले भनेको छ । ‘विद्यार्थीका लागि खरिद गरिएको प्याड कर्मचारीलाई वितरण गरेको उपयुक्त देखिएन’, प्रतिवेदनमा भनिएको छ ।



सम्बन्धित
Loading...