काँग्रेस नेतृत्व चयनका लागि आज नवलपुरका ५ वटै पालिकामा निर्वाचन

नवलपुर । नेपाली काँग्रेसको नगर तथा पालिका स्तरीय समितिमा नेतृत्व चयनका लागि नवलपुरका पालिकाहरुमा आज मतदान हुँदै छन् ।
सोमबार बुलिङ्गटार गाउँपालिकामा सहमति जुटेर नयाँ नेतृत्व गठन भएको छ भने हुप्सेकोट र विनयी त्रिवेणीमा मतदान मार्फत नयाँ नेतृत्व चयन भईसकेको छ ।
मंगलबार कावासोती नगरपालिका, गैडाकोट नगरपालिका र देवचुली नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुँदै छ। ।
कावासोती, गैडाकोट र देवचुली नगरपालिकामा दुई प्यानल बीच प्रतिपर्धा हुँदै छ ।
मध्यविन्दु नगरपालिकामा भने मंगलबार मात्रै निर्वाचन प्रक्रिया अगाडि बढ्ने छ ।
उता बौदीकालीमा भने सहमतिका लागि भन्दै सोमबार निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेन ।
कावासोतीमा श्रेष्ठ र ढकाल नेतृत्वको प्यानल चुनावी प्रतिप्रर्धामा, ११ बजेबाट मतदान हुने
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि अमृत श्रेष्ठ र सालिकराम ढकाल नेतृत्वको प्यानल चुनावी प्रतिप्रर्धामा उत्रिएको छ ।
मतदान आज विहान ११ बजेबाट हुने जनाइएको छ । यहाँ ३ सय ६९ जना मतदाता रहेका छन् ।
अमृत श्रेष्ठ नेतृत्वको प्यानलमा उपसभापतिमा जितबहादुर महतो, मुक्ति थापा पुलामी, सचिवमा लेखनाथ दवाडी, हरिवंश सुवेदी, सहसचिवमा भिमबहादुर अधिकारी र कृष्णप्रसाद भुसालले उमेदवारी दिएका छन् ।
त्यसैगरी सालिकराम ढकाल नेतृत्वको प्यानलमा उपाध्यक्षमा धनबहादुर चौधरी (डिबी चौधरी), गौमाया खण्डलु, सचिवमा झविन्द्र प्रसाद काफ्ले, विनोद राना मगर र सहसचिवमा गोविन्दमान श्रेष्ठ, भोजराज भुर्तेल (किरण) को उमेदवारी परेको छ ।
सदस्यहरुको केही पदमा सहमति भएको र केही पदमा सहमतिको प्रयास भईरहेको बताइएको छ ।
काँग्रेस गैँडाकोटको नेतृत्वका लागि आज मतदान हुँदै

गैँडाकोटमा नेपाली काँग्रेसको नयाँ कार्य समितिको चयनका लागि आज मतदान हुँदै छ ।
मतदान नेपाली काँग्रेसको पार्टी कार्यालय अर्थात विपि भवन काँग्रेस चोकमा हुनेछ ।
मतदान प्रक्रिया सकिएको दुई घण्टापछि मतगणना सुरु हुने र प्रत्येक १ सयको मतगणना पश्चात सार्वजनिक गरिने छ ।
आज निर्वाचनमा गैँडाकोट नगरसभापति पदमा काँग्रेसका नेता खेमराज सापकोटा र बद्रि सापकोटा बीच प्रतिष्पर्धा चल्ने छ ।
उपसभापति पदमा रोशनभक्त अधिकारी र राजेश कुमार श्रेष्ठको मात्र उम्मेदवारी परेपछि दुबै निर्विरोध चयन भइसकेका छन् ।
सचिव र सहसचिवमा भने निर्वाचन हुने भएको छ । सचिवमा गोविन्द घिमिरे, कृष्णमुरारी खनाल, हरिराम सापकोटाले उम्मेदवारी दिनुभएको छ । तीन जनामा २ जना निर्वाचित हुनेछन् ।
सहसचिवमा कृष्णप्रसाद सापकोटा, राजेन्द्रप्रसाद गौडेल, बुद्धिप्रसाद न्यूरे, रत्न बहादुर बोहराबीच प्रतिष्पर्धा चल्ने छ । चार जनाबाट २ जना निर्वाचित हुनेछन् ।
खस आर्य कोटाबाट अन्य तर्फ निर्वाचित हुने सदस्य पदमा १५ जनाको उम्मेदवारी परेपछि यसमा मतदान हुने भएको छ ।
यस सदस्य पदको निर्वाचनमा गोपीनाथ खरेल, ध्रुवकुमार पराजुली, कमलप्रसाद कंडेल, धनराज कंडेल, सरोजप्रसाद कंडेल, प्रकाश आचार्य, माधवप्रसाद सापकोटा, इश्वर पौडेल, ऋषिराम घिमिरे, चिरन्जिवि रिमाल, गौरवभक्त अधिकारी, रमेश तिवारी, शशिधर न्यौपाने, धनिश्वर गौतम डिजि, गंगाधर पौडेलबीच निर्वाचन हुनेछ ।
मतदान प्रक्रियाबाट १० जना निर्वाचित हुनेछन् ।
प्रत्येक वडाबाट प्रत्यक्ष निर्वाचित हुने नगरकार्य समिति सदस्य पदमा प्रत्येक वडाबाट ३÷३ जनाको उम्मेदवारी परेको छ । सबै उम्मेदवार सर्वसम्मत चयन भएका छन् । गैँडाकोट १० बाट एकजनाको मात्रै उम्मेदवारी परेको छ । निर्वाचित समितिले आवश्यकता अनुसार पछि मनोनयन गर्न सक्नेछ ।
खस आर्य कोटाबाट महिला तर्फ निर्वाचित हुने नगर समिति सदस्यहरुमा ९ जनाको मात्र उम्मेदवारी परेपछि सबै सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी आदिवासी जनजाति कोटाबाट महिला तर्फ ६ जना सदस्य पदमा सर्बसम्मत निर्वाचित भएका छन् । यसैगरी आदिबासी जनजाति कोटामा ७ जनाको उम्मेदवारी परेको थियो । जितबहादुर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि यस कोटामा पनि सर्व सम्मत सबै निर्वाचित भएका छन् । यस बाहेक दलित महिला पुरुष, थारु महिला पुरुष, अपागं वा अल्पसंख्याक सबै सदस्य पदहरुमा निर्विरोध निर्वाचित भएका छन् । आधारिक घोषणा भने मतदान प्रक्रिया सम्पन्न भएपछि एकै साथ घोषणा गरिने निर्वाचन अधिकृत विष्णुप्रसाद रिजालले जानकारी दिए।
बौदीकालीमा सभापतिमा ७ जनाको उमेदवारी
बौदीकाली गाउँपालिकामा सभापति पदका लागि ७ जनाको उमेदवारी परेको छ ।
स्रोतका अनुसार अन्य पदमा सहमति जुटि सकेको छ तथापि उमेदवारहरुको अन्तिम नामावली साढे १० बजेतिर मात्र प्रकाशित हुन भएकोले सर्वसम्मत भएकाहरुको पनि नाम सार्वजनिक गरिएको छैन ।
सभापति पदमा इन्द्रफाल मगर, मनबहादुर सारु, केवी राना, डिल्लीराम राना, पुरुषोत्तम पाण्डे, कृष्ण पुरी र हिरा विक गरी ७ जना उमेदवारी परेको छ ।
यहाँ विगत ५÷७ दिनदेखि सहमतिको प्रयास भए पनि सभापति पदमा भने सहमति जुट्न सकेको छैन ।
सभापति पदमा पत्रकार केवी राना र मनबहादुर सारुबीच अन्तिम प्रतिप्रर्धा हुन सक्ने स्रोतले जनाएको छ ।
आजै मतदान प्रक्रिया अगाडि बढ्ने कार्यसूची निर्वाचन मण्डलले सार्वजनिक गरेको छ ।
अन्य पदमा भने सहमति भईसकेको छ ।
हुप्सेकोटमा रानाको प्यानलै विजयी
नेपाली काँग्रेस हुप्सेकोट गाउँ कार्य समितिमा बलबहादुर राना सभापतिमा निर्वाचित हुनुभएको छ । निर्वाचनबाट राना सहितको पदाधिकारी प्यानल चुनिएको हो ।
कार्य समितिको उपसभापतिमा टोपबहादुर सेन र दलबहादुर सोती निर्वाचित भएका छन् ।
सचिवमा चोलाकान्त रेग्मी (आसिस), धनबहादुर गुरुङ र सहसचिवमा भीमबहादुर सारु मगर र चित्रबहादुर राउत निर्वाचित भएको हुप्सेकोट वडा नं ३ का काँग्रेस सभापति शोभाकान्त लामिछानेले जानकारी दिए ।
बुलिङ्गटार काँग्रेस सभापतिमा ओम श्रेष्ठ सर्वसम्मत
बुलिङटारमा कार्यसमिति सर्वसम्मत भएको छ ।
बुलिङटार गाउँपालिकाका लागि सभापति ओमकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचति भएका हुन् ।
उप–सभापतिमा शेरबहादुर खाँण ठकुरी र मिनबहादुर आलेमगर, सचिवमा मनप्रसाद भाट र प्रदीप कंडेल तथा सह–सचिवमा सोमबहादुर पुलामीमगर र कान्तबहादुर आलेमगर सर्वसम्मत भएको निर्वाचित उप–सभापति शेरबहादुर खाँण ठकुरीले जानकारी दिए ।
देवचुलीमा मतदान शुरु, दुई प्यानलबीच प्रतिप्रर्धा
नेपाली काँग्रेस देवचुली नगर कार्य समिति चयन गर्न चुनाव हुने भएको छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार १ सभापति पदका लागि २ जना, २ उपसभापति पदका लागि ४, दुई सचिव पदका लागि ५ जना र २ सहसचिव पदमा ३ जनाको उम्मेदवारी परेको छ ।
सभापतिमा डिल्लीराम कडरिया र रबिलाल अधिकारीले मनोयन दर्ता गरेका छन् ।
उपसभापतिमा कडरिया पक्षवाट भोजेन्द्रवहादुर रामाझी र पुरुषोत्तम गैरे तथा सापकोटा प्यानलबाट गौरीशंकर न्यौपाने र हरिभक्त भटराईले उम्मेदवारी दर्ता गरेका छन् ।
सचिवमा कडरिया प्यानलबाट देबेन्द्र भटराई र सुन्दर पाण्डे तथा सापकोटा प्यानलबाट ईश्वर रेग्मी र भूपराज पाठक उम्मेदवार बनेका छन् ।
सचिवमा स्वतन्त्र उम्मेदवार राकेश बिकले मनोनयन दर्ता गराएका छन् ।
यस्तै, सहसचिवमा दुबै प्यानलमा रहनुभएकी तनुजा महतो सहित कडरिया प्यानलबाट फटबहादुर सुनार र सापकोटा प्यानलबाट खेम सारुको उमेदवारी परेको छ।
देवचुलीमा विहान ९ः१० बाट मतदान शुरु भएको छ। यहाँ ३ सय ५ जना मतदाता रहेका छन्।