रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने, राप्रपा महाधिवेशनमा आज चुनावी प्रक्रिया


 



 

अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा उठ्ने भएकी छिन्। राप्रपाको एकता महाधिवेशनमा थापाले राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेकी हुन्।

 




राप्रपाको आजबाट महाधिवेशन सुरु भएको छ। अध्यक्षमा कमल थापा र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्।

 

 

राप्रपामा तीन महामन्त्रीको व्यवस्था छ। बिहीबारदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदै छ। लिङ्देनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणा पनि दाबेदार छन्।

 

 

थापानिकट एक नेताका अनुसार उनले बिहीबार उम्मेदवारी घोषणा गर्दै छन्। कमल थापानिकट रहेकी उनी एकता महाधिवेशनमा लिङ्देनको पक्षमा खुलेकी हुन्।

 

राप्रपा महाधिवेशनमा आज चुनावी प्रक्रिया

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनका क्रममा आजदेखि चुनावी प्रक्रिया शुरु हुदैछ । नयाँ नेतृत्व चयनका लागि भोलि हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता, दाबी विरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । तर मतदाता नामावली प्रकाशनमा गरिएको ढिलाईले समग्र निर्वाचन प्रक्रिया प्रभावित हुने भएको छ ।

 

 

हिजो साँझसम्म प्रकाशित गरिसक्नुपर्ने मतदाता नामावली अहिलेसम्म प्रकाशित हुन सकेको छैन । जसका कारण आज विहान ९ बजेदेखि शुरु हुनुपर्ने उम्मेदवारको मनोनयन पनि पर धकेलिने भएको छ ।

 

 

उद्घाट्न समारोह सकिएलगत्तै हिजो साँझदेखि शुरु भएको बन्दसत्रमा अध्यक्षत्रयका प्रतिवेदन र विधान संशोधन मस्यौदा पेश गरिएको थियो । आजको बन्दसत्रले ती प्रस्तावहरु पारित गर्ने छ ।

 

 

यसैबीच, उम्मेदवारको मनोनयन दस्तुर बढी तोकिएको भन्दै महाधिवेशन प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । अध्यक्ष पदका लागि १ लाख, उपाध्यक्षका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ मनोनयन दस्तुर तोकिएको छ ।

 

 

नयाँ नेतृत्वमा बहालवाला अध्यक्ष कमल थापालाई युवा नेता राजेन्द्र लिङ्देनले चुनौती दिनुभएको छ । दुवै पक्ष प्यानलसहित निर्वाचनमा होमिने तयारीमा रहेका छन् ।

 

 

 



सम्बन्धित
Loading...