ओलीले जनताको बहुदलीय जनवादलाई कुल्चियोः नेता श्रेष्ठ: कावासोतीमा नेकपा एकीकृत समाजवादीको नगर कमिटि घोषणा
नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष केशवलाल श्रेष्ठले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई कुल्चेको आरोप लगाएका छन् ।
विहीबार कावासोती १६, डण्डामा नेकपा एकीकृत समाजवादी कावासोती नगर कमिटि घोषणा सभामा बोल्दै ओलीले जनताको बहुदलीय जनवादलाई कुल्चेको कारण ओलीलाई छोड्नु परेको बताए ।
उपाध्यक्ष श्रेष्ठले पार्टीका सचिवायलदेखि केन्द्रिय कमिटिको वैठकमा ओली सधैं अल्पमतमा परेपछि एकलौटी रुपमा सरकार चलाएको आरोप समेत लगाए । उनले भने – प्रचण्ड र ओली भएर अढाई अढाई बर्ष सरकार चलाउने सहमति भयो तर उनले त्यो सहमति पनि तोडे ।
नेकपा एमालेका केही कार्यकर्ताहरुले आफै पनि ओलीले जनताको बहुदलीय जनवादलाई अंगाल्छन् कि भनेर एमालेको चितवनमा भएको महाधिवेशनसम्म कुरे पनि ओलीले महाधिवेशनमा पनि जनताको बहुदलीय जनवादलाई कुल्चेर गएको बताए ।
ओली प्रति निराश भएका एमालेका कार्यकर्ताहरु अब नेकपा एकीकृत समाजवादीमा आउने छन् ।
त्यसैगरी श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री कृष्णकुमार श्रेष्ठले आफू नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री भए पनि नवलपुरका संघीय सांसद, प्रदेश सांसद तथा स्थानीय जनप्रतिनिधिको पक्षमा रहेको बताए ।
उनले विकासको नाममा राजनीति गर्न नहुने भन्दै सबैसँग मिलेर जाने बताए ।
त्यसैगरी उनले नेकपा एमालेका नेताहरुलाई राजनीतिक ठेकेदारको संज्ञा दिदै नेकपा एकीकृत समाजवादी विना स्थानीय चुनावमा एक सिट जितेर देखाउन चेतावनी दिए ।
उनले नेकपा एमालेले खोला, वनजंगल, उद्योगधन्दा सबै क्षेत्रमा हस्तक्षेप गरेर कमिसन खाएको आरोप समेत लगाए ।
कार्यक्रममा देवचुली, गैडाकोट, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीबाट नेपाली काँग्रेस र नेकपा एमाले पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकोलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा गिरधारी सिग्देलको अध्यक्षतामा ५९ सदस्यीय नगर कमिटि घोषणा गरिएको थियो ।
जसको उपाध्यक्षमा कर्ण जिसी, लक्ष्मण पाण्डे, सचिवमा मौलादिन मिया, सहसचिवमा सूर्यकिरण कोइराला, ज्ञानु राना, सदस्यहरुमा कृष्ण पंगेनी, शिव केसी, निरज कुवँर मगर लगायत रहेका छन् ।






