जागिर छाडेर प्याड उद्योग सञ्चालन
राम्रो पारिश्रमिक पाउने जागिर छाडेर प्यूठानकी इन्दिरा पोख्रेलले प्याड उद्योग सञ्चालनमा ल्याएकी छन् ।
यो प्यूठान जिल्लामा पहिलो प्याड उद्योग हो । प्यूठान नगरपालिका २ रातामाटामा किशोरी तथा महिलाहरूको समस्यालाई मध्यनजर गर्दै प्याडमा केही सहुलियत गर्ने उदेश्यले करिब २५ लाख लगानीमा प्याड उद्योग सञ्चालनमा ल्याएको पोख्रेलले बताइन ।
बैशाखमै व्यवसाय सुरु गर्न मेसिन खरिद गरे पनि कोरोनाका कारण कच्चा पदार्थ आयात गर्न समस्या भएकोले भर्खरै असोज २१ गतेदेखि प्याड बनाउन थालेको उद्योग सञ्चालक पोख्रेलले बताइन ।
‘मेसिनले प्रति मिनेट ५०–६० वटा प्याड फाल्छ,’ उनले भनिन्–‘एक दिन मेसिन चलाएपछि एक हप्तासम्म फिनिसिंग र प्याकिङ गर्न लाग्छ ।’
आफूसहित ४ जना स्टाफले अहिले उद्योगमा काम गरिरहेको उनले बताइन ।
आफूहरूले उत्पादन गरेको प्याड अहिले जिल्लामै खपत हुने गरेको बताउँदै अब जिल्ला बाहिर लैजाने तयारी समेत भएको उनले बताइन ।
. प्याड बनाउँदा प्रयोग हुने अधिकांश कच्चा पदार्थहरू चीनबाटै ल्याउनु पर्ने भएकोले सानोतिनो लगानीमा उद्योग सञ्चालन गर्न नसकिने उनको भनाइ छ ।
थोकमा दर्जनको हिसाबले बिक्री गर्ने बताउने उनले ७ पिसको प्याकेटलाई ५० रुपैयाँमा र ५ पिसको प्याकेडलाई ३५ रुपैयाँमा बिक्री गर्ने गरेको इन्दिराले बताइन ।
हालसम्म करिब १३ हजारभन्दा बढी प्याडको प्याकेट तयार गरेको उनी बताउँछिन् । पाँच हजारभन्दा बिक्री भैसकेको छ ।
अधिकांश युवाहरू जागिरको शिलशिलामा दौडिरहेका हुन्छन् ।
थोरै तलब भए पनि जागिरै खाने मानसिकता बोकेर हिंड्नेहरू कमी छैन यहाँ । कि त जागिर ! कि विदेश ! योभन्दा अरू सोंच्ने फुर्सद नै छैन अहिलेका युवाहरूलाई । तर, सही मानसिकता र सोंचाईबाट गुज्रिएकाहरूका लागि इन्दिरा पोख्रेल दरिलो उदाहरण हुन् ।
करिब २०६७ सालदेखि २०७८ साल ११ वर्षसम्म जागिर गरे पनि आर्थिक रूपमा खासै प्रगति नहुँदा व्यवसाय गर्ने योजना भएको इन्दिराले बताउँछिन् ।
जागिरे जीवन भनिएत पनि पैसा पनि खासै बचत नहुने र तनाव मात्रै बढी हुने हुँदा आफूले व्यवसाय रोजेको उनले बताइन ।
आठ वर्ष जीआइजेट इन्क्लुड नामक आइएनजीओ र पछिल्लो ३ वर्ष नागबेली कृषि बहुउद्देश्यीय सहकारी संस्थामा काम गरेको अनुभव समेत सुनाइन् ।
लगनशील भएर व्यवसायमा लागेपछि कुनै दिन राम्रो फड्को मार्न सकिने उनको बुझाई छ ।
https://youtu.be/5EY3fk3fueY