देउवाको ६ दशक राजनीतिक यात्रा : दुई पटक पार्टी सभापति र पाँच पटक प्रधानमन्त्री


 



 

काठमाडौं । विश्वकै राजनीतिमा यति धेरै पटक पदीय लाभ लिने व्यक्ति विरलै भेटिन्छन्, जुन नेपाली कांग्रेसका दोस्रो पटक नवनिर्वाचित सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले प्राप्त गरे ।

 




देउवा दुई पटक नेपाली कांग्रेसको सभापति तथा पाँच पटक  प्रधानमन्त्री हुने सौभाग्य प्राप्त गरेका छन् । हुनतः देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर रुपमा क्रियाशील रहेका छन् ।

 

 

प्रधानमन्त्री देउवा हालै सम्पन्न पार्टीको १४औं महाधिवेशनबाट पार्टी सभापतिमा पुनः दोस्रो कार्यकालको लागि निर्वाचित भएसँगै उनी दोस्रो पटक पार्टी सभापति र पाँच पटक प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेका हुन् ।

 

उनले निकटतम् प्रतिस्पर्धी डा. शेखर कोइरालालाई पराजित गरेका हुन् । पुनः मतदानमा निर्वाचनमा सभापति पदका पहिलो चरणका अन्य प्रत्यासी नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको समर्थनसहित देउवा विजयी भएका हुन् ।

 

यही मङ्सिर २४ गते महाधिवेशन उद्घाटन समारोहमा उनले आफूलाई पार्टी विधानअनुसार अन्तिम पटकका लागि सभापतिमा विजयी गराउन आह्वान गरेका थिए ।

 

 

प्रधानमन्त्री देउवाले आफू पुनः सभापतिमा विजयी भएपछि आगामी तीनै तहका निर्वाचनमा पार्टीलाई विजयी गराएर तीनै तहमा कांग्रेसको सरकार बनाउने उद्घोष गरेका थिए ।

 

 

को हुन् देउवा ?

 

कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका प्रेरणाबाट राजनीतिमा होमिएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उनी हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् ।

 

विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् ।

 

 

प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंँमा हासिल गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् ।

 

नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् ।

 

 

विसं २०४८, २०५१, २०५६ र २०७४ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।

 

 

विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले हालसम्म गरी पाचौँ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका देउवा २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भएका थिए ।

 

 

सोही वर्ष असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गरेका थिए । प्रधानमन्त्री देउवा २०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बनेपछि राजा ज्ञानेन्द्रले उनलाई २०६१ साल माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए ।

 

 

प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याएर जनताको विश्वास जितेका थिए । उनकै पालामा विशेष वर्ग एवं समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन् ।

 

 

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस -प्रजातान्त्रिक- का उनी सभापति बने । पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उनी काँग्रेसको वरिष्ठ नेता भएका थिए ।

 

त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३ औं महाधिवेशनमा उनी तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए ।

 

 

सभापति एवं पार्टी संसदीय दलका नेता देउवाले व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भई नेपालको संविधान अनुसार सङ्घीय संरचनाका तीन तहका निर्वाचन गरास्का थिए ।

 

 

सभापति देउवा २०७८ साल असार २९ गते पाचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै असार २८ गते पुनःस्थापनाको फैसलाका साथ उनलाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।

 

 

सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष उनी सन् २०१३ देखि उक्त संगठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष हुन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताएका छन् ।

 

 

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

 

 

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् ।

 

 

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५मत पाएका छन् । ३५ मत भने बदर भएको छ ।

 

 

यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएका थिए । तर बहुमत पुगेन ।

कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । सभापतिमा चुनिन २३४० मत चाहिन्थ्यो ।

 

देउवाले २२५८ पाएका थिए भने शेखरले १७०२ । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो ।

 

 

तीनै उम्मेदवारको देउवालाई साथ

 

 

२०७२ मा भएको कांग्रेसको १३औं महाधिवेशनमा पनि देउवाले दोस्रो चरणमा सभापति जितेका थिए । रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग प्रतिस्पर्धा गरेका उनलाई पहिलो चरणमा ८ मत पुगेको थिए । दोस्रो चरणमा सिटौलाको साथ पाएपछि पौडेललाई हराएर कांग्रेसको सभापति चुनिएका थिए ।

 

 

यो पटक पनि उनले दोस्रो चरणमा आफूसँग प्रतिस्पर्धा गरेका तीन उम्मेदवारको साथ पाए । प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्नासाथ देउवाको जित सुनिश्चित जस्तै बनेको थियो ।

 



सम्बन्धित
Loading...