कास्कीको नौडाँडामा स्कुटर दुर्घटना, २ जनाको मृत्यु

कास्कीमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका नौ डाँडामा गएराती भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
गएराती नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग २१ प ४४६० नम्बरको स्कुटर रोकिराखेको ट्रकमा ठोक्किँदा अन्नपूर्ण गाउँपालिका १ नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र २८ वर्षीय सुनिल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवम् प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
डिएसपी तिवारीका अनुसार मृतक सुवेदीले चलाएको स्कुटर गएराती १२ बजे ट्रकमा ठोक्किदा स्कुटरमा सवार दुइ जना गम्भिर घाइते भएका थिए ।
त्यसलगत्तै उनीहरुको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याइएकामा चिकित्सकले मृत घोषित गरेको डिएसपी तिवारीले बताए ।