५ दिनदेखि भैरहवा–भूमही सडक बन्द

हरि शर्मा –
परासी, २० पुस । डा. सिके राउन नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले लगातार ५ दिनदेखि पश्चिम नवलपरासीको भैरहवा– भूमही सडक खण्ड बन्द गराउँदै आएका छन् ।
छोटो दुरीका कारण पूर्वपश्चिम भएर चल्ने सवारीसाधनहरु सो सडक खण्ड हुँदै आवतजावत गर्ने गरेका छन् । परासी सदरमुकामको कसियास्थित प्रहरी बिट अगाडी बसेर उनीहरुले सडक बन्द गराउँदै आएका हुन् । प्रहरीले बन्द स्थानदेखि आधा कि.मि.को दुरीमा बसेर सवारीसाधनलाई रोकेर राखेको छ ।
१५÷ २० जनाको समुहमा रहेका जनमत पार्टीका कार्यकर्ताहरुले दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सडक बन्द गराउँदै आएका छन् । जसका कारण सो सडक खण्डमा चल्ने सवारीसाधन ८ घण्टासम्म सडकमै रोकिन बाध्य भएका छन् ।
किसानको समस्या समाधानको माग राखेर सडक बन्द गराएका उनीहरुले आन्दोलन अनिश्चित रहेको बताउँदै आएका छन् ।