पश्चिम नवलपरासीः हत्याका मुख्य योजनाकार ‘स्कुल सञ्चालक’

३ जना पक्राउ, मुख्य योजनाकार फरार




हरि शर्मा –
परासी, २० पुस । गत असोज महिनामा भएको हत्या घटनामा एक निजी स्कुलका सञ्चालक मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ ।

 

योजनाकार फरार रहेपनि घटनामा संलग्न अन्य ३ जनालाई भने प्रहरीले ६ महिनापछि पक्राउ गरेको छ । शव भने अहिलेसम्म बरामद हुन सकेको छैन ।

 




गत असोज ६ गते पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–३ पिडरहनीका ४० वर्षिय गोविन्द धोवीको हत्या भएको थियो ।

पक्राउ परेका अभियुक्तको बयानका आधारमा प्रहरीले मुख्य योजनाकार बर्दघाट नगरपालिकाको मझौनीस्थित न्यू ड्रिम एकेडेमी स्कुलका सञ्चालक मुन्ना कहाँर रहेको प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए । उनी फरार छन् । मृतक गोविन्दका छोरा सोही स्कुलमा अध्ययनरत थिए ।

सामान्य व्यवसाय गर्ने गोविन्दसँग रकम भएकोले अपहरण गरी फिरौती रकम असुल गर्ने मुन्नाको योजनामा हत्या गरिएको प्रहरीले जनाएको छ ।

 

हत्याको घटनामा संलग्न भई पक्राउ पर्नेमा रामग्राम नगरपालिका–२ दुर्गा टोलका २६ वर्षिय सुदिपकुमार केवट, सुस्ता गाउँपालिका– १ वनदेवीका ३५ वर्षिय वीरबहादुर राजभर र बर्दघाट नगरपालिका मझौनीका सुरेन्द्र कहाँर छन् । सुरेन्द्र र मुन्ना कहाँर बाबु छोरा हुन् ।

हत्याको योजनासहित मुन्नाले बोलाएपछि भारतीय नम्बर प्लेटको आफ्नै गाडी चढेर गोविन्द एक नास्ता पसलमा पुगेका थिए । उक्त नास्ता पसल हत्यामा संलग्न वीरबहादुरको हो ।

 

मादक पदार्थबाट मातेका सबै गाडीमा चढेर हिडेको र बाटोमा गोविन्दलाई गाडीभित्री घाँटीमा गम्छाले बाँधेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

हत्या पश्चात शवलाई नारायणी नदीको ठोकर नं. ६ मा लगेर फालेको अभियुक्तहरुले प्रहरी समक्षको बयानमा बताएका छन् ।

६ महिनाअघि नदीमा फालिएको शव प्रहरीले गोताखोर लगाएर खोजतलास गरेको थियो । तर शव फेला पर्न नसके पनि हत्या स्विकारेकाले उनीहरु माथि कर्तव्य ज्यानमा मुद्दा चलाइएको प्रहरी उपरीक्षक यादवले जानकारी दिए ।

https://www.youtube.com/watch?v=AapDtm349iA

प्रमाण नष्ट गर्ने सोँचका साथ अभियुक्तहरुले उक्त गाडी सुनवल नगरपालिकाको फरौलीस्थित कच्ची सडकमा जलाएर छाडेका थिए । ‘फिंगर प्रिन्टका आधारमा पक्राउ पर्ने डरले गाडीलाई जलाएको बयान दिएका छन् ।’ प्रहरी उपरीक्षक यादवले भने ।

 

अभियुक्तहरुले डेढ करोड रुपैयाँ फिरौती रकम माग्ने सोँचका साथ उनलाई अपहरण गरेको र पछि पहिचान खुल्ने डरले हत्या गरेको साविती बयान दिएको प्रहरीले जनाएको छ ।

रुपन्देहीकी एक महिलासँग भएको मोबाइलको कल डिटेलका आधारमा अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...