नारायणीमा देखियो डल्फिन

चन्द्रा महतो –
नवलपुर, पुष २४ । चितवन राष्ट्रिय निकुञ्जको नारायणीमा डल्फिन माछा देखा परेको छ । जलपन्छी गणना गर्ने गणकहरुले डल्फिन देखेका हुन् । अमलटारी देखि त्रिवेणी सम्म चरा गणना गर्ने क्रममा गणकहरुले एउटा डल्फिन नारायणी नदिमा देखेका छन् ।
संकटापन्न अवस्थामा रहेको जलचर प्राणी डल्फिन केही वर्ष यता देखा नारायणीमा देखा परेको थिएन । नारायणी नदिमा डल्फिन देख्न पाउदा संरक्षणकर्मी उत्साहित देखिएका छन् । चरा गणना गर्ने क्रममा एउटा मात्र डल्फिन देखिएपछि नदीमा अरु पनि डल्फिन हुन सक्ने अड्कल गरिएको छ ।

बासस्थान विनाश र मानवीय अतिक्रमणसँगै विचरणमा भएको अवरोधले नारायणी नदिबाट डल्फिन हराइ सकेको थियो । तर यो वर्ष एउटा डल्फिन देखा पर्दा संरक्षणकर्मी आसाबादी भएका छन् ।
पहिले पहिले नेपालका कर्णाली, कोसी र नारायणी नदीमा डल्फिन पाईने भए पनि पछिल्ला बर्षहरुमा डल्फिन देखिएका थिएनन् । नदीमा पानीको सतह घट्नु, माछा मार्नु तथा बढ्दो मानवीय चापले डल्फिन घटेको बिज्ञहरु बताउँछन् ।
नारायणी नदीमा डल्फिन माछा देखिएपछि यसको संरक्षणमा लाग्नुपर्नेतर्फ संकेत गरेको संरक्षणकर्मी बताउछन् ।