नवलपुर जेसीजको पदहस्तान्तरण




नवलपुर । मानिस असल र राम्रो हुनका लागि उसको व्यवहार राम्रो हुनुपर्ने गण्डकी प्रदेश सभा विधायन समितिका सभापति एवं प्रदेश सांसद विष्णु प्रसाद लामिछानेले बताएका छन् ।

नवलपुर जेसीज वर्ष २०२१ ले २०२२ लाई पदहस्तान्तरण गर्ने क्रममा सांसद लामिछानेले जेसीजको सिद्धान्त र विचारमा युवाहरु जोडिनुपर्ने बताएका हुन् ।




पदहस्तान्तरण कार्यक्रममा शुभकामना दिदै कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भीमलाल कंडेलले जेसीज अनुशासित युवाहरुको संस्था भएकाले कुलत र दुब्र्यसनीमा फसेका युवाहरुको जीवनशैलीलाई सुधार्न भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष विरेन्द्र पराजुलीले जेसीजले आफ्नो कार्ययोजनामा राखेको जेसीज पुस्तकालयका लागि सवैभन्दा पहिला भवन आवश्यक पर्ने हुँदा महासंघ भवन र जेसीज पुस्तकालय सँगसँगै हुँदा यसको प्रयोग र प्रभावकारिता उपयोगी हुने भएकाले महासंघ भवन तथा जेसीज पुस्तकालयको अवधारणालाई सँगसँगै अगाडी वढाउन संस्थागत रुपमा आफूले पहल गर्ने बताए ।

कार्यक्रममा नवलपुर जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी विष्णु कंडेलले आफ्नो कार्यकालमा बनाइएका योजना कोभिडका कारण सम्पन्न गर्न नसकेकाले अवको नयाँ नेतृत्वले वाँकी कार्यभार पूरा गर्नेमा आफू बिश्वस्त रहेको बताए ।

नवलपुर जेसीजले दोस्रो पटक महिला अध्यक्ष पाएको छ । नवलपुर जेसीज बर्ष २०२२ को अध्यक्षमा जेसी राधिका भुसाल निर्वाचित भएपछि दोस्रो पटक महिला अध्यक्ष पाएको हो ।

अध्यक्ष भुसालले पद ग्रहण पछि बोल्ने क्रममा नवलपुर जेसीजले कावासोतीमा स्वास्थ्य र शिक्षाका क्षेत्रमा पिछडिएको गाउँ पहिचान गरी एक गाउँलाई जेसीज गाउँको रुपमा स्थापित गर्दै उक्त गाउँमा स्वास्थ्य र शिक्षामा प्रमुख भूमिका निर्वाह गर्ने बताइन् ।

कार्यक्रममा नवलपुर जेसीजका संस्थापक अध्यक्ष जेसी बैकुण्ठप्रसाद अर्याल, नेपाल जेसीजका राष्ट्रिय महासचिव जेसी कृष्णप्रसाद सापकोटा, नारायणगढ जेसीज बर्ष २०२२ का अध्यक्ष अमृत श्रेष्ठ लगायतले शुभकामना भनाई राखेका थिए ।

लुम्विनी बोर्डिङ स्कूलको सभाहलमा आयोजित १२ औं पदहस्तान्तरण तथा पुरस्कार बितरण कार्यक्रममै अध्यक्षले मनोनित गर्न पाउने तीन पद समेत पदपुर्ति गरिएको छ ।

अध्यक्ष भुसालले महासचिबमा जेसी लोकनाथ सिंखडा, कोषाध्यक्षमा जेसी दिपेन्द्र पौडेल र कानुनी सल्लाहकारमा जेसी ओमकार घिमिरेलाई मनोनित गरेका छन् ।



सम्बन्धित
Loading...