मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, भीरबाट लडेर किशोरीको निधन

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक तुलसिपुर उपमहानगरपालिका- १२ का अरुण देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका देवकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
सोही मोटरसाइकलमा सवार चितवन भरतपुर-७ बस्ने रामप्रसाद सापकोटा घाइते भएका छन् । उनको टाउकोमा गहिरो चोट लागेको छ ।
आइतबार बेलुका लमहीदेखि गढवा तर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका वडा नम्बर- ४ बलामपुरमा दुर्घटना भएको हो ।
त्यस्तै घाइते सापकोटाको सामान्य उपचार पछि उपचारका लागि रिफर गर्ने तयारी भइरहेको छ ।
भीरबाट लडेर किशोरीको मृत्यु
जुम्लामा एक किशोरीको भीरबाट लडेर ज्यान गएको छ । जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँ निवासी १८ वर्षीया सविता रावतको लडेर मृत्यु भएको हो ।
उनको आइतबार बिहान मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकी नर्सिङ निर्देशक सविना थापाका अनुसार आईसीयूमा उचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको हो ।
भीरबाट लडेर बेहोस अवस्थामा उनलाई शुक्रबार राति प्रतिष्ठानमा पुर्याइएको थियो । उनले होस नआएर मृत्यु भएको हो । मृतकका आफन्त धनसिंह रावतका अनुसार शुक्रबार वनमा जडीबुटी कोर्न गएको समयमा भीरबाट लडेर घाइते भएको बताए ।
मृतक किशोरी चन्दननाथ नमुना माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन थिइन् । यता अस्पताल प्रहरीका अनुसार आफन्तले मृतक किशोरीको अन्तिम संस्कार गरिएको बताइएको छ ।