प्रतिबन्धित जडीबुटी कारोबारी अझै समातिएनन्

हरि शर्मा –
परासी, ९ माघ – प्रतिबन्धित बहुमूल्य जडीबुटीको कारोबार गर्ने व्यक्तिहरु अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।
गत मंगलबार र बुधबार पश्चिम नवलपरासीबाट प्रहरीको सूचनाका आधारमा डिभिजनल वन कार्यालय परासीले ठूलो परिमाणमा जडीबुटी बरामद गरेको थियो । भारत निकासी गर्न तयारी अवस्थामा राखिएको १ सय १६ क्विन्टल ‘सुनाखरी’ र ‘झ्याउ’ नामको जडीबुटी सरावल गाउँपालिका–७ को भूजहवाबाट वन कार्यालयको टोलीले बरामद गरेको थियो ।
फर्म सञ्चालक र घरधनीबारे जानकारी भएपनि वन कार्यालयले उनीहरुलाई पक्राउ गरेर कानुनी प्रकृया अघि बढाउन वास्ता नगरेको बताइएको छ ।
बरामद जडीबुटीको अनुसन्धान गरी कानुनी प्रकृया अघि बढाउन वन कार्यालयले सहायक वन अधिकृत गिरीराज पन्तलाई अनुसन्धान अधिकृत तोकेर प्रकृया अघि बढाएको छ ।
मंगलबार प्रतापपुर गाउँपालिका–८ का शोभा दमाईले सञ्चालन गरेको ‘साई ट्रेडर्स कवाड’ संकलन केन्द्रबाट ५१ क्विन्टल ‘झ्याउ’ र २१ क्विन्टल सुनाखरी बरामद भएको थियो । त्यसको भोलि पल्ट सरावल–७ का राधेश्याम बानियाँको घरबाट ४४ क्विनटल ‘झ्याउ’ बरामद भएको अनुसन्धान अधिकृत पन्तले बताए ।
नेपाली व्यवसायीको संलग्नतामा उक्त जडीबुटी भारत महाराजगञ्ज ठूठीबारीका रामु पासीले ओसारपसार गर्ने गरेको अनुसन्धानमा खुलेको पन्तले बताए । ‘ नेपालमै बिक्री वितरण ओसारपसार र संकलनमा प्रतिबन्ध लगाइएको जडीबुटीमा संलग्न व्यक्तिको खोजी गरी कारबाही प्रकृया अघि बढाउँछौ । ’ पन्तले भने । जडीबुटी भएकाले छिटो बिग्रने भएकाले लिलाम गर्ने वा नष्ट गर्ने बारे विभागबाट स्वीकृतका लागि पत्रचार गरिने उनले बताए ।
भारतीय सीमावर्ती क्षेत्रमा रहेका कवाड संकलन (पुराना फलाम, तामा, तार, सीसालगायतका सामान संकलन गर्ने स्थान ) केन्द्रमा बहुमूल्य जडीबुटी लुकाएर राख्ने गरेको पाइएको हो । त्यसरी लुकाएर राखिएका बहुमुल्य जडीबुटी भारततर्फ निकासी गर्ने गरिएको छ ।
यसअघि पनि सीमावर्ती नाकामा रहेका केही कवाड संकलन केन्द्रमा अवैध रुपमा जडीबुटी लुकाएर राख्ने र कवाडी सामानमा लुकाएर भारत पठाउने बारे भूजहवा र बसैया नाकाका प्रहरीलाई जानकारी भएपनि वास्ता नगरिएको स्थानीयको भनाई छ ।
अन्तराष्ट्रिय बजारमा महंगोमा बिक्री हुने भएकाले भारतततर्फ चोरी गर्ने उद्देश्यले उक्त जडीबुटी त्यहाँ लुकाएर राखिएको वन कर्मचारीहरुले बताएका छन् । भारत पु¥याउँदा उक्त जडीबुटी करडौंमा बिक्री हुने अनुमान वन कर्मचारीले गरेका छन् । अवैध रुपमा फेला परेमा वन नियमावलीअनुसार सुनाखरीको प्रतिकेजी २ सय र झ्याउको २५ रुपैयाँ राजश्व लिएर प्रकृया अगाडी बढाउने उल्लेख छ ।
दुवै जातीका जडीबुटी पहाडी र उच्च पहाडी क्षेत्रमा पाइने गरेको छ । यी जडीबुटी ठूलो रुखामा नभई बुट्यानमा हुने गरेको छ । पौष्टिक तत्व, आयुर्वेद्धिकलगायत ठूला रोगहरुको उपचारका लागि बनाइने औषधिहरुमा यसको प्रयोग हुने गरेको बताइएको छ ।