कैलालीमा श्रीमतीको हत्या गरी श्रीमान फरार, बाँकेमा एक व्यक्ति नालामा मृत फेला




कैलालीमा एक जना व्यक्तिले आफ्नो श्रीमतीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–९ का परशुराम रोक्कामगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् ।




श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी भइरहेको छ ।

घरायसी विवादमा रोक्कामगरले कुटपिट गर्दै श्रीमतीको हत्या गरेको पाइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

नालामा मृत भेटिए पुरूष

बाँकेमा एक व्यक्ति नालामा मृत फेला परेका छन्।

जानकी गाउँपालिका ६ का ४२ वर्षीय मोहनसिंह ठकुरी नालामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उनी सोमबार बिहान साइकलसहित नालामा मृत भेटिएका हुन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होमप्रसाद चौधरीका अनुसार ठकुरी स्थानीय अम्बे स्टिल उद्योगमा काम गर्ने खुलेको छ।

उद्योगको काम सकेर घर फर्कने क्रममा: गए राति उनी नालामा परेको हुनसक्ने अनुमान गरिएको छ।

रातभर परेको पानीले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ।

स्थानीयबासिन्दाले बिहान नालामा ठकुरीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव पोस्टमार्टमका लागि अस्पतालमा लगिएको छ।



सम्बन्धित
Loading...