वैदेशिक रोजगार – शवमा पनि दलालको नङ्ग्रा; मृतकको नौ लाख झ्याम




प्रेम सुनार –

वैदेशिक रोजगारमा जाँदा दलालहरूको ठगी धन्दा उत्तिकै छ । विदेशमा मृत्यु हुँदा होस् वा फर्केर घरमा आई मृत्यु हुँदा मृतकले विदेशमा काम गरेको कम्पनी र बिमा बापद पाउने रकममा समेत दललाहरूले लाखौं ठगी गर्ने गरेको गुल्मीको एक घटनाले देखाएको छ ।




२०७७ साल चैत्र २० गते कतारको रोजगारीबाट घर आएका गुल्मीको मालिका गाउँपालिका–७ घमिरका ३५ वर्षीय ढालबहादुर सुनारको मृत्यु भएको थियो ।

झण्डै १२ वर्ष कतारमा मजदुरी गरेका सुनारको घर आएको दुई महिनापछि मृत्यु भयो । तर अनपढ उनकी श्रीमती लक्ष्मी सुनारलाई श्रीमानको मृत्युपछि विदेशमा काम गरेको कम्पनीले के–कति रकम दिन्छ भन्ने थाहै थिएन् ।

मृत्युको झण्डै एक वर्षपछि गत वर्षको फागुन महिनामा घमिरमै घर भएका छिमेकी तेजेन्द्र परियार भनेर चिनिने बलबहादुर परियारले काठमाडांैबाट फोन गरेर लक्ष्मी सुनारलाई बोलाए । उनी त्यहाँ गइन र तेजेन्द्रलाई भेटिन । तेजेन्द्रले लक्ष्मीको रकम झिकी दिने प्रक्रिया सुरु गरे ।

त्यस क्रममा वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीमा सम्पर्क भएका मानिसहरूमार्फत प्रक्रिया अन्तिम चरणतिर पुग्ने समयमा लक्ष्मीलाई तेजेन्द्रले पाउने कुल रकममध्ये झण्डै आधा रकम
ती काम गर्ने मानिसहरूले माग्छन् भनेर भनि दिए । लक्ष्मी भन्छिन्–‘मैले मेरो श्रीमान त गुमाए भने, हुन्छ २० लाखमध्ये १० लाख भए पनि मेरा लागि ठूलो कुरा हो भनेर भनि दिएँ । ’ अन्ततः उनले पाउने २० लाख रकममध्ये झण्डै आधा रकमबाट उनी ठगिन् पुगिन् ।

प्रभु बैंक तम्घास शाखाले दिएको विवरणअनुसार लक्ष्मीले पाउनु पर्ने पुरै २० लाख रकम उनको खातामा राखिदिइएको थियो । त्यस बैंकमा लक्ष्मी सुनारका नाममा जम्मा हुन
आएको सिटीजन्स बैंकबाट १३ लाख रुपैयाँ मध्येबाट उसै दिन नौ लाख रुपैयाँ लक्ष्मीले ८२२ नम्बरको चेकबाट झिकेकी छन् ।

त्यस्तै फोरेन कम्पनीले फोरेन एम्पलाइमेण्ट प्रमोशन बोर्डबाट लक्ष्मीका खातामा सात लाख रुपैयाँ राखिएको थियो । त्यस खाताबाट फेरि लक्ष्मी सुनारले प्रभु बैंक गंगुवा शाखाबाट चेक नम्बर ८२५ बाट १ लाख रुपैयाँ झिकेकी छन् । घर फर्केकी लक्ष्मीले सोही बैंकको तम्घास शाखाबाट चेक नम्बर ८२६ बाट ८ लाख रुपैयाँ झिकेकी छन् ।

उनले थप २ लाख १ हजार रुपैयाँ पनि आमाको नाममा भनिएको ८२८ नम्बर चेकबाट निकालेकी छन् । यस हिसाबले खाता खोल्दा राखिएको रकमसहित २० लाख १ हजार रुपैयाँ
लक्ष्मीको हस्ताक्षर गराई रकम निकालिएको छ । तर उनले काठमाडौंको बसाई र अन्य खर्च एक लाखसहित जम्मा ११ लाख मात्रै पाएकी छन् ।

लक्ष्मी भन्छिन्–‘काठमाडांैको एउटा बैंकमा मलाई नौ लाख रुपैयाँ निकाल्न लगाएर तेजेन्द्र दाइले काम गर्ने मान्छेलाई दिनुपर्छ भनेर राख्नु भयो । अर्को दिन एक लाख
निकालेर होटलमा बसेको खर्च र केही सामानहरू किनेर घर फर्केका हौं ।’ उनी थप्छिन्– ‘त्यति बेला त्यति रकम काम गर्ने मान्छेहरूले खान्छन् होला जस्तो लाग्यो र हुन्छ भनि दिएँ ।

पछि जब हाम्रै घमिर गाउँका विदेशबाट फर्केका एक जना मान्छे पनि मेरो श्रीमान जस्तै मर्नु भयो । तब उहाँकी श्रीमतीलाई पुरै २० लाख रकम आयो, म छाँगाबाट खसे जस्तै भएँ । मेरी
सासु र छिमेकीहरूले त्यत्रो नौ लाख रकम अरूलाई किन खुवाइस भनेर भन्न थालेपछि अहिले खोज्न थालेकी हुँ ।’

वडाध्यक्ष वेदप्रसाद पन्थी भन्छन् – ‘मैले उति बेलै भनेको हुँ, दलालहरूको फन्दामा पर्नुहोला भनेर । मैले हाम्रै घमिरका सूर्य लम्साल भन्ने भाई छन् उनलाई भनि दिन्छु । उनले हाम्रै गाउँका
एक जना मृतकको परिवारलाई पनि पुरै २० लाख दिलाई दिएका थिए । तर उनलाई तेजेन्द्रले बोलाए छन् । झण्डै आधा रकम उनको अर्कैले खाई दिएको थाहा पाएपछि वडा कार्यालयमा उजुरी दिने भए आउनु समेत भनेको हुँ । ’

लक्ष्मीलाई सासु भूमि सुनारले मेरो मृत्यु भएको छोराको त्यति ठूलो रकम कसलाई खुवाइस भनेर कचकच गर्न थालेपछि उनै सासुलाई लिएर हालै जिल्ला प्रशासन कार्याल गुल्मीमा आई उनै तेजेन्द्र परियारविरुद्ध उजुरी दिएकी छन् ।

वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीको च्यानलमा रहेका दलालहरूबाट ठगिने घमिर गाउँकी लक्ष्मी सुनार त एउटी प्रतिनिधि मुलक पात्र मात्रै हुन् । केही दिनअघि मात्र गुल्मीकै एक महिला
त्यसरी नै वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीका दलालहरूबाट त्यसरी नै ठगिएकी छन् ।

विदेशमा रहेका उनका श्रीमानको पनि घरमा आएर मृत्यु भयो । उनको खातामा पनि २० लाख आयो तर चेक कटाएर ११ लाख दलालहरूले खाइदिए । तर उनले यो कुरा अहिले बाहिर ल्याउन चाहिनन् ।



सम्बन्धित
Loading...