अटो चालक शंकास्पद घटनाः कुकुर मगाएर अनुसन्धान थालिने ।

रामकुमार श्रेष्ठ –
नवलपरासी, १८ माघ । पूर्वी नवलपरासीमा एक जना अटो चालकको शंकास्पद निधनको घटनाको छानविनका लागि प्रहरीले तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान थाल्ने भएको छ ।
ना २ ह ६१७३ नम्बरको अटो चालक कावासोती १३ गैरी नयाँ बस्तीका ५२ बर्षीय माधवप्रसाद गिरीको आज शंकास्पद अवस्थामा निधन अवस्थामा शव भेटिएको थियो ।
उनको हत्या भएको प्रहरीले प्रारम्भिक अनुसन्धान अनुमान गरेको छ तथापि तालिम प्राप्त कुकुर मगाएको र तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको अनुसन्धान अगाडि बढाइने भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले घटना शंकास्पद भएको र घटनाको अनुसन्धान भईरहेको बताए ।
महर्जनले भने – ‘तालिम प्राप्त कुकुर मगाएका छौं । कुकुर आइपुगेपछि मात्र हामीले शव उठाउने छौं ।’
गिरीको शव कावासोती १३ बौनाहाको सिलहट घोलमा पानीको दलदलमा गाडेको अवस्थामा आज विहान फेला पारेको थियो ।
हिजो राति वेपत्ता भएका गिरीको शव आज विहान साढे ८ बजे पछि देखेर प्रहरीलाई खवर गरेको थियो ।
अहिले घटना स्थललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरेको छ ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जन सहितको टोली खटेका छन् ।
मृतकको अनुहारमा चोट लागेको छ । घटना स्थलदेखि केही पर बाटोमा अटो भेटिएको छ ।
घटना स्थल वरपर सिक्री, २ थान मोबाईल र जुत्ता फेला परेको छ ।






