अटो चालक शंकास्पद निधन अझै रहस्यनै, आइपुगेन पोष्टमार्टम रिपोर्ट, मुख्य अभियुक्त आशंका गरिएका फरार




कावासोतीमा अटो चालक ५२ बर्षीय माधवप्रसाद गिरीको शंकास्पद निधन भएको एक साता पुग्न लागेको छ। तर, घटना अनुसन्धान अझै निष्कर्षमा पुग्न सकेको छैन।

मृतक गिरीको शव पोष्टमार्टम भइसकेको छ। मृतक गिरीको शव आफन्तले बुझेर अन्तिम संस्कार पनि गरिसकेका छन् ।




प्रहरीले घटनाको अनुसन्धानका क्रममा सोधपुछका लागि २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान पनि थालेको छ। तथापि घटनामा सम्लग्न भनेर आशंका गरिएका मुख्य अभियुक्त अझै फरार छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका दुई जना पुरुष मध्ये १ जनाको घटनामा सम्लग्नता रहेको जस्तो देखिए तापनि यकिन भईसकेको छैन।

गिरीले भने – ‘यात्रु बनेर अटोमा जाने युवक फरार छन्। उनको खोजी कार्य जारी छ। हामीले शुक्ष्म रुपमा अध्ययन गरिरहेका छौं।’

गिरीको पोष्टमार्टम रिपार्ट नआइपुगेको कारण पनि अनुसन्धानलाई निष्कर्षमा पुर्याउन नसकिएको गिरीले बताए। पोष्टमार्टम रिपोर्ट आइसकेपछि हामीले मसिनरी गरेको अनुसन्धान र पोष्टमार्टम रिपोर्टलाई दाँजेपछि हामी निष्कर्षमा पुग्ने छौं।

फरार भनिएका अभियुक्त पनि छिट्टै पक्राउ पर्ने गिरीले बताए।

ना २ ह ६१७३ नम्बरको अटो चालक कावासोती १३ गैरी नयाँ बस्तीका ५२ बर्षीय माधवप्रसाद गिरीको शंकास्पद निधन भएको हो । उनको हत्या भएको प्रहरीले प्रारम्भिक अनुसन्धान अनुमान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले घटना शंकास्पद भएको र घटनाको अनुसन्धान भईरहेको बताए ।

गिरीको शव कावासोती १३ बौनाहाको सिलहट घोलमा पानीको दलदलमा गाडेको अवस्थामा मंगलबार फेला पारेको थियो ।

सोमबार राति एक जना अपरिचित युवकले घरमै आएर कावासोती जान छ भन्दै अटोमा गएपछि उनी वेपत्ता भएका थिए ।

वेपत्ता भएका गिरीको शव मंगलबार विहान साढे ८ बजे पछि देखेर प्रहरीलाई खवर गरेको थियो ।

मृतकको अनुहारमा चोट लागेको छ । घटना स्थलदेखि केही पर बाटोमा अटो भेटिएको छ ।
घटना स्थल वरपर सिक्री, २ थान मोबाईल र जुत्ता फेला परेको छ ।



सम्बन्धित
Loading...