स्वर कोकिला भारतीय चर्चित गायिका लता मंगेशकरको सरस्वती पूजाकै दिन निधन




भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । ‘स्वर कोकिला’ उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको हो ।

मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।




कोरोना संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

उनले ३६ भाषामा हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनले थुप्रै नेपाली गीत पनि गाएकी छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।

लताको निधनको बलिउड र संगीत क्षेत्र शोकमा छ । हजारौंले सामाजिक सञ्जालमा लताको योगदानको स्मरण गर्दै शोक व्यक्त गरेका छन् ।

उनले भारतको प्रतिष्ठित भारत रत्न, दादा साहेब फाल्के लगायतका सम्मान तथा अवार्ड प्राप्त गरेकी छन् ।

आफ्नो स्वर रहेका नेपाली गीत फेरि नगाइयोस् भन्ने चाहन्थिन् लता

विश्व चर्चित भारतीय गायिका लता मंगेशकरले नेपाली गीतमा पनि स्वर भरेकी छन् । लताले स्वर भरेका ‘जुन माटो मेरो’, ‘बाँचुञ्जेलीलाई’, ‘आकाशमा तिरमिरे’ लगायतका गीत नेपाली श्रोता-दर्शकमाझ आज पनि उत्तिकै लोकप्रिय छन् ।

विश्वका ३६ भाषाका ५० हजारभन्दा बढी गीत गाएकी लता आफूले गाएका नेपाली गीत भने अरु गायिकाको स्वरमा रेकर्ड नहोस् भन्ने चाहन्थिन् ।

यो कुराको जानकारी संगीतकार सुरेश अधिकारीले दिएका छन् । अनलाइनखबरसँग कुरा गर्दै सुरेशले भने, ‘करिब १२-१३ वर्षअघि म र संगीतकार महेश खड्का मुम्बई पुगेका थियौं । महेशजीले लताकी बहिनी उषा मंगेशकरको स्वरमा एउटा गीत रेकर्ड गराउने तयारी गर्नुभएको थियो । लताजी पनि सोही स्टुडियोमा हुनुहुन्थ्यो ।’

त्यसबेला लतासँग नेपाली गीत-संगीतको विषयमा कुरा भएको सुरेशले बताए । ‘लता र उषाले हामीसँगको कुराकानीमा आफूहरुले गाएको नेपाली गीत रिमेक भएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको थियो,’ उनले भने ।

‘लता र उषाले आफूले गाएका गीत फेरि नयाँ गायिकाहरुले गाउँदा आफूहरुका लागि त जिउँदै मरेजस्तो हुने बताउनुभयो,’ सुरेशले अगाडि भने, ‘यो कुराले हामीलाई मर्माहत बनाएको थियो ।’

लता मंगेशकर आफूले गाएको नेपाली गीत फेरि अर्को स्वरमा रेकर्ड नहोस् भन्ने चाहन्थिन् । कोकिल स्वरकी धनी लताको आइतबार सरस्वती पूजाको दिन निधन भएको छ ।

सम्झनामा लता मंगेशकर : ३६ भाषामा ५० हजार गीत रेकर्ड

लताले ३६ भाषाका ५० हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् । उनले एक हजारभन्दा बढी चलचित्रमा गीत गाएकी छन् । सन् १९६० देखि सन् २००० को कालखण्डमा निर्माण भएका अधिकांश चलचित्रमा लताको स्वर समावेश हुन्थ्यो । उनको स्वर विनाका चलचित्रका गीत अपूरो हुन्थे ।

उनले सन् २०१५ मा रिलिज भएको ‘डुन्नो वाय’मा अन्तिम गीत गाएकी थिइन् । लता मंगेशकर ८० वर्षसम्म गीतसंगीतमा सक्रिय रुपमा लागेकी थिइन् । सन् १९२९ सेप्टेम्बर २९ तारिखमा मध्यप्रदेशको इन्दौरमा जन्मिएकी लताले १३ सालबाटै गीत गाउन थालेकी थिइन् । लताका तीन बहिनीहरु आशा भोस्ले, उषा मंगेशकर, मीना मंगेशकर र भाइ हृदयनाथ मंगेशकर हुन् ।

लताको सन् २००१ मा संगीत दुनियाँमा योगदान गरेको भन्दै भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ प्रदान गरिएको थियो । उनी ‘पद्म विभूषण, पद्म भूषण, दादा साहेब फाल्के’लगायतबाट सम्मानित भएकी थिइन् । लतालाई ६१ वर्षको उमेरमा चलचित्र ‘लेकिन’बाट ‘राष्ट्रिय अवार्ड’ समेत मिलेको थियो ।

कोकिल स्वरकी धनी लताको निधनले उनका लाखौं फ्यानलाई स्तब्ध बनाएको छ । भारतका प्रधानमन्त्री, रक्षा मन्त्रीसँगै विभिन्न दलका नेता, बलिउडकर्मी, संगीतकर्मी र उनका शुभचिन्तकले उनलाई श्रद्धाञ्जली दिएका छन् ।



सम्बन्धित
Loading...