कारको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु, दुइटा ट्रकमा स्कार्पियो ठोक्किँदा एक जनाको निधन
काठमाडौँको धापासीमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३ बर्षीय श्रीयन पाण्डे रहेका छन् ।
मंगलबार बेलुकी कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा राती साढे ९ बजे धापासी स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडकमा खेल्दै गरेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिएको थियो ।
कार सहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सुनसरीको कोसी गाँउपालिका-६ स्थित पूर्व-पश्चिम राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मंगलबार राति भएको दुर्घटनामा पाँच जना घाइते रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-५ का ५० वर्षीय दिलीप मण्डल छन्।
यस्तै, घाइतेहरूमा कंकालिनी नगरपालिका-५ कै ६० वर्षीय लक्ष्मण साफी, ३६ वर्षीय राजेश मेहता, ४४ वर्षीय रामकुमार रजक, ४८ वर्षीया रामकुमारी देवी रजक र ५० वर्षीय उमेश कुमार साफी छन्।
घाइतेहरूको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
राति ९ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश नं. २-०१-००१ च ००३१ नम्बरको स्कार्पियो गाडी रोकिराखेको बिआर०१जिए ४४८३ नम्बरको भारतीय ट्रकमा ठोक्किएको थियो।
ट्रकमा ठोक्किएर अनियन्त्रित भएर स्कार्पियो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ५८३ नम्बरको ट्रकमा समेत ठोक्किएको थियो।