रामग्रामको छोरी बचाउ अभियान, छोरी जन्मे पच्चिस हजार अनुदान




परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरपालिका भित्रका नागरिकको घरमा छोरीको जन्म भए घर परिवालाई पच्चीस हजार रकम अनुदान दिने भएको छ ।

छोरी बचाऊँ, छोरी पढाऊँ, भन्ने अभियान संचालन गरि रामग्राम नगरपालिकाले नगरपालिका भित्र जन्मने छोरीहरुका परिवारलाई २५ हजार रुपैयाँ रकम बैंकमा जम्मा गरिदिने निर्णय गरेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिए।




‘चोरी बचाऔं, छोरी पढाऔं’ अभियान अन्तरगत यस्तो कार्यक्रम ल्याइएको हो ।

तराई मधेश क्षेत्रमा रहेको पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा अधिकांश तराई मुलका मानिसहरुको बसोबास रहेको र यहाँको समाजमा छोरी प्रति अलि नकारात्मक भावना रहेको हुनाले छोरीको शिक्षाको क्षेत्रमा एउटा जागरण ल्याउने उद्देश्यका साथ नगरपालिकाले छोरी बचाओैँ, छोरी पढाओैँ भन्ने अभियान शुरु गरेको रामग्राम नगरपालिका नगर प्रमुख गुप्ताले बताए।

रामग्राम नगरपालिका भित्र गत साउन १ गतेदेखि यता जन्मेका सबै छोरीहरुको घर परिवारहरुलाई नगरपालिकाले २५ हजार रुपैयाँ रकम बैंक खातामा राखीदिने व्यवस्था मिलाईएको बताईएको छ । छोरी जन्मेको परिवारका लागि छोरीको जन्मदर्ता प्रमाण पत्र एवं अविभावकको नागरिकता पेश गर्नुपर्ने छ ।

छोरी र छोरीको अविभावकको संयुक्त नाममा बैंकमा मुद्दती खातामा यो रकम जम्मा हुनेछ भने यो रकम छोरी बालिग भएपछि मात्र निकाल्न पाईने प्रावधान रहेको छ ।

घरमा छोरीको जन्म भए पछि परिवारले जन्म दर्ता गरि छोरी र अविभावकको संयुक्त नाममा बैंकमा खाता खोली खाता नम्बर नगरपालिकालाई दिए पछि यो रकम बैंकको खातामा छोरीको नाममा जम्मा हुने व्यवस्था गरिएको छ ।



सम्बन्धित
Loading...