स्थानीय तह निर्वाचनः कावासोतीमा एमालेबाट मेयरमा क–कसको चर्चा




नवलपुर । सरकारले स्थानीय तहको मिति घोषणा गरेपछि विस्तारै यसको चर्चा जताततै छाउन थालेको छ ।

 

कतिपयले अटेरी समूहको नाममा नेपालका मुख्यमुख्य नगरपालिकाहरुमा उमेदवारी समेत घोषणा गरिसकेका छन् ।

 




पूर्वी नवलपरासीको कावासोतीमा पनि विभिन्न राजनीतिक दलहरुबीच सम्भावित नगर प्रमुखका उम्मेदवारहरुको चर्चा हुन थालेको छ ।

 

यस अघिको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जित हात पारेको नवलपुरको कावासोती नगरपालिकामा एमालेबाट नगर प्रमुखमा आकांक्षीहरुको चर्चा शुरु भएको छ ।

 

यस अघि कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रहेर  कार्य गरेका विष्णु भुसालले सञ्चारकर्मीहरु र पार्टी कार्यकर्ताहरुको बीच आफ्नो उम्मेदवारी रहेको दावी प्रस्तुत गरेका छन् ।

दाउन्ने न्यूजसँग कुराकानी गर्दै उने यस पटक कावासोती नगरपालिकाको नगर प्रमुखमा आफ्नो दावी रहने बताए ।

 

त्यसैगरी शिद्धार्थ आवासीय माविका संस्थापक प्रिन्सिपल भोजराज दाहालले पनि नेकपा एमालेबाट कावासोतीमा नगर प्रमुखमा आफ्नो दावी रहने बताएका छन् ।

 

अहिलेसम्म गरेको शैक्षिक सामाजिक क्षेत्रमा गरेको योगदानका आधारमा आफूलाई पार्टीले मूल्यांकन गर्नेमा आफू आशावादी रहेको भोजराज दाहालले बताए । उनले आफ्नो कावासोती नगर प्रमुख पदमा यसपाली दावी रहने प्रष्ट पारे ।

 

 

त्यसो त कावासोतीमा नगरउपप्रमुख भईसकेका प्रेमशंकर मर्दनियाको पनि नाम चर्चामा रहेको छ । उनले थारु समुदाय र जनजाति समुदायको उल्लेख्य मत पाउने भएका कारण उनलाई नगर प्रमुखका रुपमा खडा गर्नु पर्ने कतिपयको तर्क छ ।

 

निर्वाचनको मिति नजिकिदासम्म एमाले भित्र नगर प्रमुखको दावी गर्नेहरुका नाम चुलिने क्रम बढ्ने छ ।

 

यस अघि नवलपुरमा नेकपा एमालेले नगर प्रमुखमा कावासोती र गैडाकोट नगरपालिकामा जित हात पारेको थियो । कावासोती नगरपालिकालाई एमालेले अहिले पनि आफ्नो जित हुने क्षेत्रको रुपमा दावी गर्दै आएको छ ।

 

त्यसो त यस पटकको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन एक हुने सम्भावना कायम रहेको र नेकपा एमाले फुटे नेकपा एकीकृत समाजवादी पार्टी निर्माण पछि त्यसको प्रभाव कावासोती नगरपालिकामा पनि रहेकोले एमालेलाई कावासोती नगरपालिकामा जित हात पार्न निक्कै कसरत गर्नु पर्ने देखिन्छ ।



सम्बन्धित
Loading...