मोटरसाइकल चोरी घटनाका मुख्य अभियुक्त पक्राउ

भरतपुर । मोटरसाइकल चोरी घटनाको मुख्य आरोपित गिरफ्तार भएका छन् । सर्लाही हरिवन-१ का ३२ वर्षीय सुनित भन्ने इनरजोश साह पक्राउ परेका हुन् ।
मोटरसाइकल चोर्ने र चोरीको मोटरसाइकलको नक्कली कागजात बनाउने मुख्य व्यक्ति साह फरार रहेका थिए । चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले साह पक्राउ परेकोे र अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताए ।
भन्सार कार्यालयबाट ल्याएको मोटरसाइकल हुनाले कागजमा केही त्रुटि हुने भए पनि अन्य प्राविधिक समस्या नहुने र वार्षिक नवीकरण गरी ढुक्कले बाइक चलाउन मिल्ने भनी उनले बिक्री गर्ने गरेका थिए ।
अन्य आरोपितहरु कारागार चलान भएका छन् । आरोपितहरु तेजन पुन, अरुण कँडेल, अनिश श्रेष्ठ, अशोक कुमाल र हिमाल पुन पुर्पक्षका लागि थुनामा गएका छन् । चोरीको मोटरसाइकल किनेर चढेको आरोप लागेका सरोज खतिवडा भने धरौटीमा छुटेका छन् । खतिवडाकै जस्तो अभियोग लागेका हिमाल पुन भने थुनामा गएका छन् ।
मुख्य आरोपित साहसँग अशोक कुमालले, अशोकसँग अनिश श्रेष्ठले, अनिशसँग अरुण कँडेलले कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । अरुणबाट तेजन पुनले लाने र अन्तिम बिक्री स्वरुप ग्राहकलाई दिने गरेको अनुसन्धानमा उल्लेख छ ।
आफूले खरिद गरेको प्लसर २२० बाइक भदौ २७ गते नवीकरण गर्न यातायात सेवा कार्यालय भरतपुर जाँदा सरोज खतिवडालाई प्रहरीले मोटरसाइकलसहित गिरफ्तार गरेपछि चोरी प्रकरणको साङ्लो पत्ता लागेको चितवन प्रहरीको भनाइ छ ।
तत्कालीन प्रहरी प्रमुख एसपी ओम अधिकारीले मोटरसाइकलक चोरीको चुनौती पार लगाउन वा चोरी कार्य रोक्न अपरेसन माइक चार्ली अभियान चलाएका थिए । असोज ७ गते प्रहरीले पत्रकार सम्मेलन गरी चोरी आरोपका १४ जना सार्वजनिक गरेको थियो ।
अनुसन्धानकै क्रममा उनीहरुको साथबाट ६ वटा चोरीको मोटरसाइकलसमेत बरामद भएको छ । चोरीको सामान्य घटनामात्र नभई कागजपत्रसमेत किर्ते गरेको र संगठितरूपमा अपराध भएको भनी सरकारी वकिल कार्यालयले सोहीअनुसार अभियोजन गरेको थियो ।