काँग्रेस नवलपुर अधिवेशनः सभापतिमा जिसी र घिमिरेको उमेदवारी, पदाधिकारीदेखि सदस्य सबैमा बढी उमेदवारी

रामकुमार श्रेष्ठ –
नवलपुर, २० फाल्गुन । सहमतिको प्रयासका बाबजुत नेपाली काँग्रेस नवलपुरका नयाँ नेतृत्वको लागि मनोनयन दर्ता भएको छ ।
निर्वाचन मण्डलका अनुसार सबै पदमा दुई वा सो भन्दा बढी उमेदवारी परेको छ । जिल्ला सभापतिमा महेन्द्रध्वज जिसी र बालकृष्ण घिमिरेको उमेदवारी परेको छ ।
जिसीले यस अघि प्रदेश कमिटिको सभापतिमा आकांक्षा देखाएका थिए। उनी प्रदेश कमिटिको सभापतिको दौडबाट बाहिरिएपछि जिल्लामा सभापति बन्ने दौडमा छन् ।
जिसी साविक नवलपरासी जिल्लाका सचिव हुन् । यस अघि जिसी नवलपरासी जिल्ला एउटै हुँदा जिल्ला सभापतिमा विष्णु लामिछाने र देवेन्द्रराज कंडेलसँग पराजित भएका थिए । संविधान सभा सदस्य र पूर्व सांसद समेत रहेका जिसीलाई शेखर कोइरालाको समर्थन रहेको बुझिएको छ ।
त्यसैगरी २०४७ मा सालमा नेपाल विद्यार्थी संघको जिल्ला कार्यसमिति सदस्य भएका बालकृष्ण घिमिरे पनि सभापति पदकै दौडमा छन् । उनलाई देउवा पक्षधरको समर्थन रहेको छ ।

२०५७ मा नेविसंघ जिल्ला सचिव २०६२ मा प्रजातान्त्रिक विचार समाजको संस्थापक जिल्ला सभापति, २०६५ मा प्रजातान्त्रिक विचार समाजको केन्द्रिय सदस्य, नेपाली कांग्रेसको ११ औं र १२ औं महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्य, १३ औं महाधिवेशनमा जिल्ला सचीव बनेका घिमिरे जिल्लामा बौद्धिक नेताको रुपमा चिनिन्छन् ।
त्यसैगरी नेपाली काँग्रेस नवलपुरको अधिवेशनबाट २ जिल्ला उपसभापति, २ सचिव, २ उपसचिव गरी पदाधिकारीमा ७ पदका लागि निर्वाचन हुने छ ।

त्यसैगरी २ उपसभापति पदका लागि ६ जनाको उमेदवारी परेको छ । उपसभापतिमा उदय अधिकारी, उदय अर्याल, चन्द्रबहादुर राना, पूर्ण सिंह राना, केशवप्रसाद सापकोटा र धर्मराज बस्यालको उमेदवारी परेको छ ।
त्यसैगरी २ सचिव पदका लागि ४ जनाको उमेदवारी परेको छ । महेन्द्र पोख्रेल, होमराज रानाभाट, मित्र भट्टराई र करुणा सागर सुवेदीले सचिव पदमा उमेदवारी दिएका छन् ।
त्यसैगरी २ सहसचिवका लागि राजेश पौडेल, अशोक केसी, विन्दु काफ्ले र श्यामसुन्दर पराजुलीले उमेदवारी दिएका छन् ।

त्यसैगरी सदस्यहरुमा १ नगरपालिकाबाट १ महिला सहित ३ जना सदस्य गरी ४ नगरपालिकाबाट १२ जना सदस्य, १ गाउँपालिकाबाट १ महिलासहित २ जना सदस्य गरी ४ गाउँपालिकाबाट ८ जना सदस्य छानिनेछन् ।
त्यसैगरी खसआर्यबाट २ महिला र २ खुल्ला सदस्य, जनजातिबाट ३ महिला र ३ खुल्ला सदस्य गरी ६ जना सदस्य, दलितबाट १ जना सदस्य, थारुबाट १ महिला र एक खुल्ला गरी २ जना सदस्य र अल्पसंख्यक वा अपाड्डताबाट १ जना सदस्य छनौट हुने छ । नवलपुरमा १ हजार ९ सय ६१ जनाले जिल्ला अधिवेशनमा आफनो मत प्रयोग गर्नेछन् ।
मतदान भोलि लुम्बिनी कलेजमा हुने कार्यतालिका रहेको छ तथापि सहमतिको लागि मतदान गर्ने मिति केही पछाडि धकेलिने सम्भावना पनि रहेको स्रोतले जनाएको छ ।
नेपाली काँग्रेस नवलुरको नेतृत्वका लागि मनोनयन दर्ताको समय आज दिउँसो २ बजेसम्मका लागि तोकिएको भए पनि समय थप गर्दै लगिएको छ । मनोनयन समय अहिले बढाएर ४ बजेसम्म पुर्याइएको छ ।
मनोनयनको समय अवधि थप गरिएसँगै सहमतिको लागि छलफल समेत जारी रहेको जनाइएको छ ।