नवलपुरका भूमिहिन सुकुम्बासी आन्दोलित
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीका भूमिहिन सुकुम्बासीहरु आनदोलित भएका छन् ।
उनीहरुले नवलपुरका प्रमुख जिल्ला अधिकारीदेखि ८ वटा पालिकामा ज्ञापन पत्र बुझाएर आन्दोलन छेडेका हुन् ।
शुक्रबार उनीहरुले कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुन र जिल्ला प्रशासन कार्यालय नवलपुरमा ज्ञापन पत्र बुझाए ।
उनीहरुले तत्काल नवलपुरका सबै पालिकाहरुले आयोगसँग सम्झौता गरेर भूमिहिन सुकुम्बासीहरुलाई जग्गाधनी लालपूर्जा उपलब्ध गराउनु पर्ने माग गरेका हुन् ।
उनीहरुले प्रशासन र कावासोती नगरपालिकामा ज्ञापन पत्र बुझाउनु अघि कावासोती फलफूल चोकबाट मौन जुलुस गरेका थिए।
ज्ञापन पत्र बुझ्दै कावासोतीका नगर प्रमुख चन्द्रकुमारी पुनले संघीय सरकार फेरबदल भएपछि आयोग विगठन हुने, संघीय सरकारको स्पष्ट निर्देशन नआउनुको कारणले बेलैमा लालपूर्जा बाड्न नसकेको भन्दै दुःख व्यक्त गरेकी थिइन् ।
त्यसैगरी उनले कावासोती नगरपालिकाले पुन भूमि आयोगसँग सम्झौता गरेर काम अगाडि बढाइसकेकोले तत्काल काम अगाडि बढ्ने जानकारी पनि गराइन।
कावासोती नगरपालिकामा ४ वटा वडामा तथ्यांक संकलनको काम सकिएको छ भने ३ वटा वडाको लालपूर्जा वितरणको अन्तिम तयारीमा आएर रोकिएको थियो।
नवलपुरमा ३३ हजार ६ सय ३५ जना भूमिहिन सुकुम्बासीहरु रहेका छन् । जस अनुसार भूमिहिन दलित २ हजार ४ सय २३ जना, भूमिहिन सुकुम्बासी ५ हजार ३ सय ५ जना र अव्यवस्थित बसोबासीहरु २५ हजार ९ सय ७ जना रहेका छन् ।
जिल्ला भूमि आयोग नवलपुरको तथ्यांक अनुसार नवलपुरमा सबैभन्दा बढी भूमिहिन सुकुम्बासीहरु मध्यविन्दु नगरपालिकामा रहेका छन्।
मध्यविन्दु नगरपालिका ७ हजार ६ सय २३ जना भूमिहिन सुकुम्बासीहरु रहेका छन् । त्यसैगरी कावासोती नगरपालिका ७ हजार ५ सय ४० जना भूमिहिन सुकुम्बासीहरु रहेका छन् ।










