नेपाली कांग्रेस चितवनको सभापतिमा खनाल निर्वाचित

नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित भएका छन् ।
अधिवेशनको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेस चितवनको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने तयारी भएको थियो तर एकाएक श्रेष्ठले खनाललाई समर्थन गरेपछि दोस्रो चरणको निर्वाचन टरेको हो । शुक्रबार भएको पहिलो चरणको मतदानमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा जानुपर्ने बाध्यता थियो । पाँच जना उम्मेदवारबीचको प्रतिस्पर्धामा राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठले धेरै मत ल्याएका थिए ।
संस्थापन इतरको कोइराला समूहले सभापतिको साझा उम्मेदवार चयन गर्न नसकेपछि चार जनाले एक्कै एक्लै चुनावको मैदानमा होमिएका थिए । शेखर कोइराला निकटका खनालले ७४६ र शेरबहादुर देउवा निकटका श्रेष्ठले ६६२ मत ल्याएका थिए ।
पहिलो चरणको मतदानमा अर्का उम्मेद्वार उत्तम जोशीले ४७२, प्रा. डा सूर्यकान्त घिमिरेले ४२६ र कैलाश कोइरालाले ४१२ मत प्राप्त गरेका थिए । घिमिरे र जोशीले खनाललाई दोस्रो चरणको लागि समर्थन रहेको बताएका थिए । पहिलो चरणमा दुई हजार ८२० मत खसेकोमा १०२ मत बदर भएको थियो।
नवनिवाचित कांग्रेस चितवन सभापति खनाल अर्थशास्त्र प्राध्यापन पेसामा संलग्न रहनुको साथै नेविसंघको केन्द्रीय सदस्य, तरुण दलको जिल्ला सचिव र अध्यक्ष भएका थिए । पार्टीको उपसभापति पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । सचिवमा ८ र सहसचिवमा १० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । महासमिति सदस्य, कार्यसमितिका केही सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।
कांग्रेस चितवन निर्वाचनः पदाधिकारीसहितको मतगणना भोलि विहानदेखि
नेपाली कांग्रेस चितवन पदाधिकारीको मतगणना भोलिबाट हुने भएको छ । जिल्ला निर्वाचन समितिले भोलि विहान ११ बजेदेखि मतगणनाको तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत ज्ञानेन्द्र अधिकारीले नेपाली कांग्रेस पार्टी कार्यालय, कमलनगरमा भोलि (आइतबार) विहान ११ बजेदेखि पदाधिकारीको मतगणना हुने जानकारी दिए ।
गयराति सभापतिको मात्रै मतगणना गरिएको थियो । आज दोस्रो चरणको मतदानको तयारी भइरहेको बेला दुई उम्मेद्वारले सहमति जनाएपछि सर्वसम्मत रुपमा राजेश्वर खनाल जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
भोलिबाट उपसभापति, सचिव, सह–सचिव, सदस्य र महासमिति सदस्यको मतगणना हुनेछ । हिजो भएको निर्वाचनमा कुल २ हजार ८२० मत खसेको छ ।