बर्दघाट नगरपालिको ४ वटा एम्बुलेन्स बन्यो मागी खाने भाँडो, न हरहिसाब र एम्बु्लेन्स तुरुस्त




नवलपुर । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरपालिका भित्र रहेको विरामीहरुको सहजताको लागि भन्दै खरिद गरेको एम्बुलेन्स नगरपालिकाका कर्मचारी र चालकलाई मागी खाने भाँडो भएको छ ।

 

नगरपालिकाले खरिद गरेर सञ्चालनमा ल्याएको ४ बर्ष वितिसक्दा पनि नगरपालिकाको वडादेखि पालिका कार्यालयसम्म एम्बुलेन्सको आम्दानी विवरण कतै उल्लेख छैन भने एम्बुलेन्स विग्रिएको भन्दै मर्मतका लागि भने पटक पटक भुक्तानी भएको देखिन्छ ।

 




त्यसो त नगरपालिकाले एम्बुलेन्स खरिद गर्दै कमिसनको चक्करमा कम गुणस्तरको एम्बुलेन्स खरिद गरेको स्थानीयले आरोप समेत लगाउने गरेको छ ।

बर्दघाट नगरपालिकाले खरिद गरेर वडा कार्यालयहरुलाई जिम्मा दिई सञ्चालनमा ल्याएका एम्बुलेन्स अधिकांश समय ग्यारेजमा थन्किएर बस्ने गर्दछ ।

 

२०७४ सालमा सिप्रदी ट्रेडिङ प्रा.लि.बाट टाटा कम्पनीका ४ वटा एम्बुलेन्स खरिद गरेर २०७५ साल कात्तिकदेखि वडा कार्यालय माताहत रहने गरी नगरपालिकाले वडालाई हस्तान्तरण गरेको थियो ।

जनप्रतिनिधिले निर्णय गरेर खरिद गरेका एम्बुलेन्स उनीहरुको एक कार्यकाल पुरा नहुँदै जीर्ण र पुरानो भएको छ ।४ वटा एम्बुलेन्स मध्ये ३ वटा एम्बुलेन्सको ईञ्जीनमा पटक पटक समस्या आउने गर मर्मत गरेर काम चलाउने गरिएको छ ।

टाटा कम्पनीका ति गाडी एम्बुलेन्सका लागि उचित नभएको र अहिले फेजआउट भएका गाडीहरु रहेका कारण बढि समस्या आउने गरेको एक जना अटो ईञ्जीनियर बताए ।

 

नगरपालिकाले बर्दघाट क्षेत्रलाई हुने गरी चिसापानी अस्पताललाई मध्यनजर गरेर एउटा एम्बुलेन्स, पञ्चनगर कलस्टरलाई हुने गरी वडा नम्बर ९ को जिम्मामा रहनेगरी एउटा, जहदा कलस्टरलाई मध्यनगर गरी वडा नम्बर १३ माताहत रहनेगरी एउटा र दाउन्नेदेवी कलस्टरलाई मध्यनजर गरी वडा नम्बर १४ माताहत रहनेगरी एउटा गरी चार वटा एम्बुलेन्स संचालन गर्दै आईरहेको छ ।

 

नगरपालिका मार्फत संचालन भएका एम्बुलेन्सहरुले के कति आम्दानी गरे र कति खर्च भएको छ भन्ने नगरपालिकामा नियमित रुपमा अपडेट समेत नहुने नगरपालिकाकै कर्मचारी बताउँछन् । अहिलेसम्म कुनै पनि वडाले एम्बुलेन्सले गरेको बास्तविक आम्दानी र खर्च नगरपालिकामा बुझाउन सकेका छैनन् ।
महालेखाले तयार पारेको बर्दघाट नगरपालिकाको प्रतिवेदनमा समेत नगरपालिकाद्वारा खरिद गरी संचालन भएका एम्बुलेन्स जिन्सी खातामा समेत उल्लेख नभएको र हिसावकिताव नआएको भनी उल्लेख गरेको थियो । एम्बुलेन्सको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो ब्यक्त गरेको छ । अख्तीयारले एम्बुलेन्ससंग सम्बन्धीत सम्पूर्ण कागजात र विवरण उपलब्ध गराउन भनी नगरपालिकालाई पत्राचार गरिसकेको छ ।

 

वडा नम्बर २ चिसापानी अस्पतालमा रहेको एम्बुलेन्स बाहेक अन्य एम्बुलेन्सहरुको इञ्जीनमा खरावी आएपछि मर्मत गरेर संचालन गरिएको छ । दाउन्नेदेवी कलस्टर अन्तरगत वडा नम्बर १४ माताहतको एम्बुलेन्स भने कोरोना महामारीको पहिलो लहर चलेका बेला ईञ्जीनमा खरावी आएर लामो समय थन्कीएको थियो । पछि जेनतेन मर्मत गरेर संचालनमा ल्याए पनि केही समय संचालनमा आएको र पुनः ईञ्जिनमा खरावी देखिएर महिनौ देखी चिसापानी स्थीत अटो भिलेजमा रहेको एक ग्यारेजमा थन्कीएर बसेको छ ।

बर्दघाट नगरपालिकाका एक कर्मचारीका अनुसार ईञ्जीनमा खरावी आएका एमबुलेन्समा लु १ झ ४ सय १६, लु १ झ ४ सय १७ र लु १ झ ४ सय १९ रहेका छन् भने लु १ झ ४ सय १८ नम्बरको एमबुलेन्सको ईन्जीन हाल सम्म ठिक अवस्थामा चलिरहेको छ । बर्दघाट नगरपालिकाले सुत्केरी हुने महिला र जेष्ठ नागरिकहरुका लागि नगर भित्रका स्वास्थय संथा सम्म पु¥याउनका लागि निशुल्क सेवा दिँदै आए पनि एम्बुलेन्सको अबस्था सहि नभएका कारण समयमा सेवा लिन असहज हुनेगरेको जनगुनासो आउने गरेको छ ।

 

नगरपालिकामा मार्फत संचालन हुँदै आएका विरामी बोक्ने एम्बुलेन्सहरु समय समयमा विग्रिएर हैरानी खेप्नु पर्ने अवस्था आएपछि भने एम्बुलेन्सको अवस्थाको बारेमा नगरबासीले चासो ब्यक्त गर्ने गरेका छन् । विरामी बोक््ने एम्बुलेन्स नै आफै विरामी जस्तो भएको नागरिकले टिप्पणी गर्ने गरेका छन् ।

 

किन लामो समय देखी विग्रिएको एम्बुलेन्स मर्मत किन हुन नसकेको भन्ने जिज्ञासामा प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यले भने एम्बुलेन्स मर्मतका लागि ठुलो खर्च आउने भएकोले तत्काल मर्मत गर्न नसकिएको बताए । पाध्यका अनुसार वडा नम्बर १४ माताहतको बाहेक अन्य एम्बुलेन्सहरु विग्रिए पनि अहिले मर्मत गरेर चालु अवस्थामा रहेको बताए । पाध्यका अनुसार एम्बुलेन्स मर्मतका लागि भन्दै नगरपालिकाले पटक पटक रकम विनियोजन गरेको छ ।

 

वडा नम्बर १४ अध्यक्ष केशव बहादुर खत्री क्षेत्रीले आर्थिक अभावका कारण एम्बुलेन्सको मर्मत गर्न नसकिएको र अहिले आर्थिक ब्यबस्था भैसकेकोले छिट्टै मर्मत हुने बताए ।

क्याप्सनः मर्मतका लागि ग्यारेजमा थन्किएर बसेको बर्दघाट नगरपालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्स



सम्बन्धित
Loading...