रुसले गरेको बम आक्रमणमा युक्रेनी अभिनेता लीको मृत्यु


 



रुसले गरेको बम आक्रमणमा युक्रेनका चर्चित अभिनेता तथा टीभी प्रस्तोता पासा लीको मृत्यु भएको छ ।

 

बीबीसीका अनुसार राजधानी किभ नजिकैको युक्रेनी सहर इरपिनमा भएको घटनामा लीको मृत्यु भएको हो ।

 




३३ वर्षीय लीले रुसी आक्रमणको पहिलो दिन युक्रेनको प्रतिरक्षा गर्ने दस्तामा भाग लिएका थिए ।

 

इरपिन सहरका बासिन्दाका अनुसार अभिनेता लीले ‘द लायन किङ’ र ‘द हबिट’जस्ता चर्चित युक्रेनी संस्करणका फिल्ममा अभिनय गर्नुका साथै आवाज दिएका थिए ।

 

पाभ्लो ली नामले फिल्ममा चर्चित उनको जन्म सन् १९८८ मा क्रिमियामा भएको थियो । उनले हालै त्यहाँको डोम टीभीमा एक कार्यक्रम सञ्चालन गर्न सुरु गरेका थिए ।

 

उक्त टीभी च्यानलले सन् २०१४ देखि रुसी पृथकतावादीहरुले कब्जा गरेको युक्रेनका पूर्वी क्षेत्रका दर्शकलाई लक्षित गर्दै प्रसारण आरम्भ गरेको थियो ।

 

च्यानलकी प्रमुख युलिया ओस्ट्रोभ्स्काले दिवंगत अभिनेता तथा प्रस्तोता ली रमाइलो स्वभावका व्यक्ति भएको बताएकी छन् ।

 

उनले टीभी ट्यालेन्ट शो स्टार फ्याक्ट्री र एक्स-फ्याक्टरसहित २०१६ मा रिलिज भएको सेल्फीपार्टीसहितका फिल्ममा अभिनय गरेका थिए ।

 



सम्बन्धित
Loading...