चितवनः जालसाजी गरी अर्कैको जग्गा हडप्ने कार्यमा दुई वडाध्यक्षको संलग्नता

भरतपुर । जालसाजी गरी अर्कैको जग्गा हडप्ने कार्यमा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाका वडाध्यक्षको संलग्नता देखिएको छ । आफ्नो वडावासी नै नभएको व्यक्तिलाई जालसाजी गरी वडावासी भएको देखाएर जग्गा हडप्ने कार्यमा भरतपुर–१५ का वडाध्यक्ष शम्भुबहादुर भण्डारी र इच्छाकामना–५ का वडाध्यक्ष मोदराज सिलवालले सहयोग गरेको पाइएको छ ।
जालसाजी गर्नमा सहयोग गरेको भन्दै उनीहरुसहित भरतपुर–१५ की वडा सदस्य सिर्जना अधिकारीविरुद्ध चितवन जिल्ला अदालतमा जालसाजी आरोपमा मुद्दा दर्ता भएको छ । जग्गा हडप्ने कार्यको प्रमुख प्रतिवादी तनहुँको आँबुखैरहनी–४ बस्ने जुठीमाया गुरुङविरुद्ध राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
वडाध्यक्षहरुले अख्तियारको दुरूपयोग गरी गलत सूचनाको आधारमा प्रतिवादीलाई सिफारिस दिएको भन्दै पीडित पक्षले जनप्रतिनिधिहरुलाई विपक्षी बनाई अदालतमा जालसाजी मुद्दा दर्ता गराएका हुन् । जालसाजी मुद्दाको पेशी सोमबारलाई तोकिएको छ ।
भरतपुर–१५ का जगतबहादुर शेरचनले तनहुँका खड्गबहादुर गुरूङलाई धर्मछोराका रुपमा २०१८ सालदेखि लालनपालन र स्याहार सुसार गर्दै आएका थिए । शेरचनले केहि जग्गा खरिदगरी गुरुङको नाममा बकसपत्र गरी दिएका थिए । जगतबहादुरका आफ्ना तीन भाइ छोरामध्ये दुईको मृत्यु भएको छ ।
जिवित रहेका मोहन शेरचनका छोरा अनिल शेरचनले एकवर्षअघि मुद्धा दर्ता गरेका हुन् । गुरुङको २०७३ माघ ५ गते मृत्यु भइसकेका छ ।
तर, जग्गा लिने, खाने, मास्ने अत्यन्त कलुषित भावनाकासाथ खड्कबहादुर गुरूङको काकाको साहिँली छोरी आँबुखैरहनी–४ पुलजिपमा बस्ने ६४ वर्षिय जुठीमाया गुरूङले इच्छाकामना–५ बाट खड्कबहादुरको मृत्यु दर्ता तथा नाता प्रमाणितसमेत गरेको पाइएको छ ।
वडाध्यक्ष समेतको मिलेमतोमा किर्ते जालसाजपूर्ण कागजहरु खडा गराई खड्गबहादुरको नामदर्तामा रहेका जग्गा आफ्ना नाममा अपुताली हक कायम गराउने कार्य भएको भनी शेरचन परिवारको तर्फबाट जालसाजी मुद्दा दर्ता भएको हो ।
मुद्दा दर्ता भएपछि प्रहरीले जुठिमायालाई फागुन ३ गते पक्राउ गरी अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान ग¥यो । निर्धारित समयमा अनुसन्धान नसकिएपछि थप समय मागियो ।
बृद्धा अवस्थाकी प्रतिवादीले सवुत प्रमाण नष्ट गर्न र भागी जान पनि नसक्ने देखिएको भन्दै अदालतले थप समय दिन इन्कार ग¥यो । साथै हिरासतमा नराखी अनुसन्धान तहकिकात गर्न अदालतले आदेश दिएको हो ।
प्रतिवादीद्धारा बुबाको नाम परिवर्तन
पीडित पक्षले भने प्रतिवादीले धेरै सबुत प्रमाणहरु नष्ट गरिरहेको दाबी गरेको छ । निर्वाचन कार्यालय तनहुँले २०७४ सालको चुनाव ताका मतदाताको अन्तिम नामावली प्रकाशन गर्दा जुठिमायाको बुबाको नाम टंकबहादुर र आमाको नाम पार्वती गुरुङ थियो ।
आफुविरुद्ध मुद्दा दर्ता भएपछि उनले आफ्नो बुबाको नाम चन्द्रविर गुरुङ बनाएको प्रमाण फेला परेको छ । निर्वाचन कार्यालय तनहुँले २०७७ पुस ५ गते मतदाताको अद्यावधिक अन्तिम नामावली प्रकाशन गर्दा बुबाको नाम चन्द्रविर गुरुङ बनाइएको पाइएको हो ।
खड्गबहादुर गुरूङका बुबाको नाम चन्द्रवीर गुरूङ हो । चन्द्रवीरका भाइकी साहिँली छोरी हुन् जुठीमाया । इच्छाकामना–५ को वडा कार्यालयले भने खड्कबहादुर र जुठिमाया साख्खै दाजुबहिनी भएको भनि २०७४ असोज ३१ मा नाता कायम सिफारिस दिएको हो ।
गलत सिफारिसकै आधारमा भरतपुर–१५ का भण्डारीबाट वास्तविक कुरा बुझ्दै नबुझी तथा जानकारीमा रहेको कुरालाई समेत लुकाई अन्य प्रतिवादीहरुसँग मिली मालपोत कार्यालय भरतपुर चितवनलाई जग्गा नामसारीको लागि सिफारिस भएको निवेदनमा उल्लेख छ ।
त्यतिमात्रै नभएर २०७५ साउन १३ को निर्णय आदेशअनुसार भनी पूरै गलत विवरण उल्लेख गरी ३५ दिने सार्वजनिक सूचनासमेत जारी गरिएको पाइएको छ । उक्त सार्वजनिक सूचनामा जुठीमाया गुरूङको हुँदै नभएको इच्छाकामना–५ वतन उल्लेख छ भने हक खाने एकमात्र बहिनी जुठीमाया गुरूङ रहेको पनि उल्लेख गरिएको छ ।
२०७५ साल असोज ४ मा तयार पारिएको एक कागजमा खड्कबहादुरकी बहिनी पर्नेको छोरा देवबहादुर गुरूङले निज जुठीमाया गुरूङको नाममा एकलौटी नामसारी भएमा कुनै दाबी विरोध गर्नेछैन भनी कागजसमेत गराइएको पाइएको छ ।
प्रतिवादी इच्छाकामनाका होइनन् : पीडित
पीडित पक्षले खड्कबहादुरको नाममा रहेको जग्गा भोगचलन गर्दै आएको छ । सोही जग्गामा निर्माण भएको घरमा नै पीडित पक्षको परिवार बस्दै आएको निवेदनमा उल्लेख छ । ‘जुठीमाया गुरूङ र खड्गबहादुर गुरूङ वा तिनीहरुका कोही पनि परिवारसमेत इच्छाकामना–५ का बासिन्दा होइनन् । उनीहरुको त्यहाँ एक टुक्रा जमिन पनि छैन भने त्यहाँका बासिन्दा, मतदाता केही पनि होइनन्’, निवेदनमा भनिएको छ ।
आफ्ना वडामा बस्दै नबस्ने अनधिकृत व्यक्तिले दिएको सूचनाका आधारमा नै जुठीमाया गुरूङको जालपरिपञ्चमा मिली इच्छाकामना–५ का वडाध्यक्ष सिलवालबाट गैरकानुनी तरिकाबाट अख्तियारी दुरूपयोग भएको मुद्दामा भनिएको छ ।