कावासोतीको ९० विगाहा जग्गामा हडप्न भूमिया सक्रिय, नगरपालिकाले बनायो छानविन समिति


 



 

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा रहको ९० विगाहा सरकारी तथा प्रति जग्गामा भूमाफियाले आँखा लगाएको छ ।




कावासोती नगरपालिका ९ को सीमानामा पर्ने कावासोती १४ (साविक अग्यौली २ क) को ९० विगाहा बढी जग्गामा भूमाफियाले आँखा लगाएको हो ।

 

केरुङ्गे खोलाले बगाएर बगरमा परिणत भएको जग्गालाई भूमाफियाले आँखा लगाएका हुन् ।

नापी कार्यालय कावासोतीको फिल्डबुक अनुसार साविक अग्यौली २ (क) को ७८ नम्बर कित्ताको सरकारी जग्गा ८६ विगाहा ३ कठ्ठा ५ धुर र अर्को प्रति जग्गा १ नम्बर कित्ताको ४–३–१४ जमिन मध्ये १ नम्बर कित्ताको ४ विगाहा ३ कठ्ठा १४ धुर (प्रतिजग्गा) एउटै मान्छेले फरक फरक मान्छेलाई पटक पटक बेचेको देखिन्छ ।

८६ विगाहाको ७८ नम्बर कित्ता २०५१ सालमा नेपाल सरकारले आफ्नो नाममा स्वामित्व ग्रहण गरेको फिल्डबुकमा देखिएको छ ।

 

यो जग्गामा भूमाफियाले जग्गा हडप्न थालेपछि स्थानीयले जंग्गा संरक्षण समिति बनाएको छ भने कावासोती नगरपालिकाले कावासोती ५ का वडा अध्यक्ष हरि बास्तोलाको संयोजकत्वमा छानविन समिति नै बनाएको छ ।

 

गत माघ २४ को कावासोती नगरपालिकाको कार्यपालिका वैठकले हरि वास्तोलाको अध्यक्षतामा ३ सदस्यीय छानविन समिति बनाउने निर्णय गरेको हो भने माघ २५ गतेको दशौं नगर सभाले छानविन समितिलाई अनुमोदन समेत गरेको छ ।

 

स्थानीय बासिन्दा एवम् जग्गा संरक्षण समितिका संयोजक टंकप्रसाद लुइटेलले ४ विगाहा ३ कठ्ठा १४ धुर जग्गा एउटै मान्छेले फरक फरक मान्छेलाई बेचेको देखिएको र एउटै जग्गालाई ५ जना सम्मले मेरो जग्गा हो भन्दै दावी गर्न आएको आफूले पाएको बताए ।

 

धेरै बर्ष पहिले खोलाले बगरमा परिणत गरेको जमिन अहिले विस्तारै खोलाले पानीको बहाब परिवर्तन गरेपछि उक्त क्षेत्र अहिले बगरे चौरको रुपमा परिणत भएको छ ।

 

बगर चौरको रुपमा देखिन थाले पछि भूमाफियाहरुले उक्त जग्गा आफ्नो भन्दै गत चैत्रदेखि दावी गर्न थालेका हुन् । उनीहरुले उक्त जग्गामा तारबार लगाउन र टहरो बनाउन समेत भ्याएका थिए । पछि स्थानीयले उक्त तारबार र टहरा भत्काइदिएका थिए ।

 

छानविन समितिको संयोजक हरि वास्तोलाले आफूलाई नगरपालिकाले आधिकारिक पत्र दिइ नसकेको र पत्र पाउना साथ छानविन प्रक्रिया अगाडि बढाउने बताए ।

 

स्थानीयले संरक्षण थाले

कुनै बेला खेतीयोग्ग जमिन रहेको उक्त क्षेत्र केरुङ्गे खोलाले बगरमा परिणत गरेको थियो । अझै पनि उक्त २ कित्ता जग्गाको बीच बाटो केरुङ्गे खोला बग्ने गर्दछ ।

 

अहिले उक्त जग्गाको त्रिभुवनटार क्षेत्रको जग्गा त्रिभुवनटारको बासिन्दाले र कावासोती ९ तर्फको जग्गा कावासोती ९ का बासिन्दाले संरक्षण गर्दै आएको छ ।

 

त्रिभुवनटारका बासिन्दाले त्रिभुवनटार क्षेत्रका जग्गामा गुठी, मठमन्दिर, घाँसे मैदान, चौतारी आदिको रुपमा प्रयोग गरेर संरक्षण गर्दै आएको छ ।

कावासोती ९ का बासिन्दाले कावासोती ९ तर्फको चौरमा मन्दिर, क्लब भवन, खेलकुद मैदान आदिको रुपमा प्रयोग गर्ने गरी टंकप्रसाद लुइटेलको संयोजकत्वमा जंग्गा संरक्षण समिति बनाएर जग्गा संरक्षणका लागि अभियान थालेको छ ।

 

कावासोती नगरपालिकाको नगर उपप्रमुख प्रेमशंकर मर्दनियाले उक्त क्षेत्रमा माघ १६ गते उक्त जग्गामा बन्न लागेको शिवालय मन्दिरको शिलान्यास समेत गरेको मन्दिर निर्माण समितिका अध्यक्ष भुपनारायण न्यौपानेले बताए ।

न्यौपानेका अनुसार कावासोती ९ का बासिन्दाले खोला तट्बन्धन लगायतका काम गरेर जग्गा संरक्षण गर्न थालेपछि भूमाफियाले जग्गा आफ्नो हो भन्दै दावी गर्न आएको बताए ।

 

त्यसैगरी जग्गा सरक्षण समितिका सचिव प. विष्णुप्रसाद पोख्रेलले उक्त जग्गामा अतिक्रमण बढ्न थालेपछि आफूहरुले समिति बनाएर संरक्षण थालेको बताए ।

स्थानीय बासिन्दाले उक्त जग्गाको स्वामित्व नगरपालिकाले ग्रहण गरी कावासोती ९ का बासिन्दाले चरिचरण, खेलकुद मैदान, मठमन्दिर निर्माण, क्लब भवन, कृषि ज्ञान केन्द्र, सरकारी भवन आदि निर्माण गर्ने गरी उपभोग र संरक्षण गर्न पाउनु पर्ने माग अगाडि सारेका छन् ।

 



सम्बन्धित
Loading...