युवकको पेटबाट निकालियो ‘पेटीको बक्कल’ र ‘सिक्री’

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक बिरामीको पेटबाट पेटीको ‘बक्कल’ र फलामको सिक्री निकालेको छ।
भोजपुर नगरपालिका-१२ टक्सारका २१ वर्षीय युवाको पेटबाट कम्मरमा बाँध्ने पेटीको बक्कल र फलामको सिक्री निकालिएको हो।
परिवारिक स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैंले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए।
घटनापछि उपचारका लागि नोबेल अस्पताल ल्याइएका ती युवाको पेटबाट दुबै सामान निकालिएको हो।
बिना चिरफार इण्डोस्कोपिक विधिमार्फत् पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका विशेषज्ञ शल्यचिकित्सक डा. ध्रुवनारायण शाहले जानकारी दिए।
डा. शाहका अनुसार ती युवाको पेटको खाना नलीमा बक्कल अड्किएको थियो भने आमाशयमा सिक्री थियो।
मुखबाट इण्डोस्कोप छिराएर मुखबाटै बक्कल निकालिएको हो। आमाशयमा रहेको सिक्री भने दिसाको माध्यमबाट निस्किएको हो।
पेटको शल्यक्रिया तथा क्यान्सरसम्बन्धी चिकित्सक डा.शाह, डा. मोहन खड्कासहितको टोलीले बक्कल निकालेर बिरामीलाई जोखिममुक्त बनाएको नोबेलका जनरल म्यानेजर नारायण दाहालले बताए।
बिनाचिरफार बक्कल र सिक्री निकालिएपछि अहिले ती युवाको स्वास्थ्य अवस्था सामान्य छ। स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई डिस्चार्ज गरिएको नोबेल अस्पतालले जनाएको छ।