पश्चिम नवलपरासीमा म्यादी प्रहरीमा भर्ना हुनेको भिड

हरि शर्मा –
परासी, ६ चैत – पश्चिम नवलपरासीमा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरुको भिड बढेको छ । बैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका लागि आजदेखि देशभर नै म्यादी प्रहरी भर्ना खुलाइएको छ ।
भर्नाका लागि गाउँ गाउँबाट आएका युवाहरु बिहान ८ बजेदेखि नै जिल्ला प्रहरी कार्यालय अगाडी लाइनमा बसेका थिए । भर्ना हुनका लागि पुरुषसँगै महिलाहरुको सहभागिता पनि उल्लेखनीय देखिएकोछ । जिल्लामा ७ स्थानीय तह छन् ।
त्यहाँ खटाउन १ हजार २९ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार यादवले जानकारी दिए । ११ गतेसम्म आवेदन दिन पाइने छ । भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनु पर्ने छ ।
भर्नामा देश तथा छिमेकी राष्ट्रका अवकाश प्राप्त पूर्वसुरक्षाकर्मी, वन रक्षक र विगतका निर्वाचनमा म्यादी प्रहरी रहेकालाई प्राथमिकतामा राखिएको छ । १५ गतेदेखि भर्ना छनौट हुने छ । छनौटपछि आधारभूत तालिम दिई निर्वाचनमा खटाइने प्रहरी उपरीक्षक यादवले बताए ।
४० दिन निर्वाचनको काममा खटाइने म्यादी प्रहरीलाई ४३ हजार ४ सय ४० रुपैयाँ दिइने छ । जसमा तलबबापत ३० हजार २ सय ४०, खाद्यन्नबापत ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिदका लागि ६ हजार तोकिएको छ । त्यसबाहेक आउने जाने तयारीबापत १ हजार उपलब्ध गराइने छ ।
निर्वाचनका लागि जिल्लामा १ सय २१ मतदान स्थल तोकिएको छ । अघिल्लो निर्वाचनभन्दा अहिले १ वटा मतदान स्थल बढेको हो । बढाइएको मतदान स्थलमा बर्दघाटको दाउन्ने क्याम्पस छ । मतदान केन्द्र पनि बढ्ने देखिएको छ ।
अघिल्लो निर्वाचनमा २ सय ५७ मतदान केन्द्र रहेकोमा अहिले २ सय ८६ पूग्ने निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानले जानकारी दिए बताइएको छ । स्थानीय निर्वाचनमा जिल्लामा कुल २ लाख ४५ हजार ८ सय ७३ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।