नवलपुरमा १०३० म्यादी प्रहरी माग, पहिलो दिनमै दिए ५ सय बढीले आवेदन – फोटो फिचर
नवलपुर । पूर्वी नवलपरासीमा स्थानीय तहको निर्वाचनलाई लक्षित म्यादी प्रहरी माग भएपछि पहिलो दिन आइतबार ५ सय बढीले आवेदन दिएका छन् । नवलपुरमा १ हजार ३० म्यादी प्रहरी माग भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार आइतबार पहिलो दिन नै उल्लेख्य संख्यामा म्यादी प्रहरीका लागि आवेदन आएको छ । आवेदन चैत्र १२ गतेसम्म लिइने छ ।
जिल्ला प्रहरी कार्यालय नवलरासी ९पूर्व०ले म्यादी प्रहरीका लागि आइतबारबाट भर्ना खुलाएको छ। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नवलपुरमा म्यादी प्रहरीको भर्ना प्रकृया अगाडि बढाईएको हो।
म्यादी प्रहरीका लागि १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरीकले निस्शुल्क रूपमा दरखास्त बुझाउन सक्नेछन् । दरखास्त दिन आउँदा नेपाली नागरिकताको प्रतिलिपि र ५ थान पासपोर्ट साईजको फोटोका साथै अनुभवका कागजपत्र भए सो र आफूले हासिल गरेको शैक्षिक योग्यताका प्रमाण पत्र पनि पेश गर्नु पर्ने छ ।
म्यादी प्रहरीका लागि छनोट प्रक्रियामा विशेष गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा आवेदन लिएर छनौट प्रक्रियामा रहेकालाई पहिलो प्रथामिकता, पूर्व नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेनालाई दोस्रो प्रथामिकता, विदेशमा वा बैंकमा सेक्युरेटी गार्डमा काम गरेकालाई तेस्रो प्राथमिकता, पूर्व म्यादी प्रहरीलाई चौथो प्रथामिकता र अन्त्यमा आमसर्वसाधारणलाई प्रथामिकतामा राखिने छ ।
म्यादी प्रहरीका लागि चैत ६ गतेदेखि ११ गतेसम्म जिल्ला प्रहरी कार्यालय कावासोतीमा उपस्थित भई दरखास्त दिन सकिनेछ ।
प्राप्त भएका आवेदनहरूको छनौट चैत्र १६ गतेबाट शुरू हुनेछ। चैत्र २२ गते १ हजार ३० जना म्यादी प्रहरीको अन्तिम नतिजा प्रकाशन गर्नेगरि तयारी भएको गिरीले बताए। छनौट भएका म्यादी प्रहरीको लागि चैत्र २८ देखि १५ दिनको तालिम सञ्चालन हुनेछ। छनौट भएकालाई नवलपुरका विभिन्न स्थानमा तालिम दिइएने गिरीले बताए ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरिले खाद्यान्नवापत ७ हजार २००,पोशाक तथा अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधाको व्यवस्था गरिएको छ ।














