बालिका बलात्कार गर्नेलाई १० बर्ष जेल र १ लाख जरिवाना, पीडितले पाएनन् क्षतिपूर्ति

बालिका बलात्कार आरोपमा ०७७ जेठ २८ गते १ लाख क्षतिपूर्ति भराउने भनी चितवन अदालतबाट फैसला भयो । आरोपितलाई १० वर्ष कैदसमेत तोकियो । ती आरोपित अहिले भरतपुर कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।
तर, सोही फैसलाअनुसार क्षतिपूर्ति भराउने सम्बन्धको फैसला भने कार्यान्वयन भएको छैन । जबर्जस्ती करणी, करणी प्रयास, यौन दुव्र्यवहारलगायतका घटनाका दोषीहरु सजाय भुक्तान गर्न जेलमा छन् । तर, उनीहरुले फैसलाअनुसार पीडितलाई दिनुपर्ने क्षतिपूर्ति भने दिएका छैनन्, जसले गर्दा पीडितले पूर्ण न्याय पाउन सकेका छैनन् ।
पीडितमैत्री कानुनी व्यवस्थाअनुसार अपराधीलाई दोषी करार र पीडितलाई क्षतिपूर्तिको प्रावधान छ । तर, अपराधीले दोष प्रमाणित भई जेल जीवन बिताइरहे पनि पीडितलाई दिनुपर्ने क्षतिपूर्तिको दायित्व भने वहन गरेका छैनन् ।पदमपुरकी एक बालिकालाई बलात्कार गरेको आरोपमा पीडकलाई २ वर्ष जेल सजाय भयो ।
सँगै पीडितलाई पीडकबाट २० हजार क्षतिपूर्ति भराउनू भनी फैसला भयो । ०७४ चैत ६ गते उक्त फैसला भएको हो । ०७६ पुस १८ गते १५ वर्ष कैद हुने भनी २ लाख क्षतिपूर्तिको माग दाबीअनुसार चितवन अदालतले फैसला गरेको दियो । ०७४ पुसमा पीडकबाट ३ लाख क्षतिपूर्ति भराउने भनी एक आरोपितलाई ८ वर्ष कैद सजाय भयो ।
तर, अहिलेसम्म क्षतिपूर्ति छैन । विभिन्न अपराधका पीडितको संरक्षण गर्दै आएको आर्दश गृहमा रहेका कतिपयले अझै पनि क्षतिपूर्ति रकम पाएका छैनन् ।मानव बेचबिखन, बलात्कार, यौन दुरूपयोग, घरेलु हिंसालगायतका गम्भीर मुद्दाका फैसला कार्यान्वयनमा आउन सकेको छैन ।
‘हामीहरुको संरक्षणमा रहेका पीडितले यहाँबाट निस्केपछि पनि क्षतिपूर्ति रकम आयो ? भनी सोधिरहेका हुन्छन्’, असहाय महिला तथा बालबालिका पुनस्र्थापना केन्द्रकी संस्थापक एवम् आदर्श गृहकी प्रमुख मीना खरेलले भनिन्, ‘दोषीलाई कैद सजाय मात्र हुँदा न्यायमा पूर्णता भएको छैन, पीडितले पाउने भनिएको रकम पनि तत्कालै उपलब्ध गराएमा मात्र न्याय पाएको मानिन्छ ।’
‘प्रतिवादीले पीडितका नाममा रकम भरेमा तत्कालै पीडितलाई उपलब्ध गराउँछौँ, पीडितले निवेदन दिएमा पीडकबाट असुल उपर हुने सम्पत्ति रहेछ भने त्यो पनि गर्छौं’, चितवन अदालतका श्रेष्तेदार ईश्वर आचार्यले भने, ‘तर पीडितले तोकिएको क्षतिपूर्ति रकम पाऊँ भनी अदालतमा निवेदन दिएमा पीडित राहत कोषबाट भए पनि दिन सकिन्छ ।’
प्रतिवादीले तत्काल रकम उपलब्ध गराएकाले केही दिनअघि एक जना पीडितलाई घरमै गएर क्षतिपूर्तिबापतको रकम दिएको उनले बताए । पीडितले पाउने रकमका लागि आफूहरुले पटकपटक अदालत, सरकारी वकिलसमक्ष पनि कुरा राखेको तर पाउन नसकेको गृहकी आमा भीमा जिसीले बताइन् ।