रुस र युक्रेनबीच टर्कीमा शान्ति वार्ता, हाेला त सफल

एजेन्सी । रुस र युक्रेनबीच मंगलबार टर्कीको इस्तानबुलमा शान्ति वार्ता भएको छ । करिब ३ घण्टासम्म चलेको उक्त बैठकपछि रुसका प्रमुख वार्ताकार मेडिन्स्कीले सकारात्मक प्रतिक्रिया दिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन ।
उनले रुसले युक्रेनबीचको कीभ र चेर्निगोभमा हुने आक्रमणलाई कम गर्ने निर्णय गरेको बताए ।
सोही समयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटघाट हुन सक्नेछ । यसअघि दुवै देशका विदेशमन्त्रीबीच वार्ता हुनेछ ।
अर्कोतर्फ आज डेनमार्कको संसदलाई सम्बोधन गर्दै जेलेन्स्कीले मारियोपोलमा रुसले गरेको आक्रमण युद्ध अपराध भएको बताए ।
रुसले मानवता विरुद्धको अपराध गरेको छ । युक्रेनले सुरक्षा ग्यारेन्टी मागेको छ र अन्तर्राष्ट्रिय समाधानको लागि आह्वान गरेको छ ।
‘पुटिनलाई रुसी जनताको पूर्ण समर्थन छ’ – क्रेमलिन

राष्ट्रपति भ्लादिमिर पुटिनलाई जनताको पूर्ण समर्थन रहेको रुसी प्रशासन क्रेमलिनले जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी जनता पुटिनको पक्षमा रहेको जनाएका हुन् ।
रोयटर्सले जनाएअनुसार मत सर्वेक्षणबाट सार्वजनिक तथ्यांकमा पुटिनको लोकप्रियता बढेको पेस्कोभको भनाइ छ । यद्यपि कुन मत सर्वेक्षणले यस्तो देखाएको भन्नेबारे पेस्कोभले केही खुलाएका छैनन् ।
युक्रेनमा आक्रमण गर्ने निर्णय गरेसँगै रुसका विभिन्न शहरमा व्यापक प्रदर्शन भएपछि युक्रेनमाथिको आक्रमणले पुटिनको लोकप्रियता कमजोर बनाएको विश्लेषण हुँदै आएको थियो । केही दिनअघिमात्रै युरोप भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिन सत्तामा टिकिरहन नसक्ने टिप्पणी गरेका थिए ।
‘ईश्वरका लागि यो मानिस सत्तामा टिकिरहन सक्दैन ।’ बाइडेनको भनाइ थियो । यही क्रममा उनले पुटिनलाई ‘कसाई’ को समेत संज्ञा दिएका थिए ।