पर्यटकीय स्थल घोषणासँगै ठोरीमा बढ्दै पर्यटक


 



मधेस प्रदेश सरकारले पर्यटकीय स्थल घोषणा गरेसँगै तराई मधेसको ‘मिनी उपत्यका’को नामले परिचित ठोरीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढ्दै गएको छ । खासगरी चितवन, बारा, पर्सा, रौतहटलगायतका जिल्लाका बासिन्दा ठोरीमा घुम्न र वनभोज खान पुग्ने गरेका छन् ।

 




ठोरी गाउँपालिका–२ मा रहेका राईधारा, रानीवन, ठुटेखोला परिसर, सीता गुफा, अमृतधारा, गोलेडाँडालगायतका स्थानमा सधैँजसो पर्यटकहरुको भीडभाड रहने ठोरी गापा–२ का अध्यक्ष किशोर तामाङ बताउँछन् । यहाँ पिकनिक तथा घुमफिरका लागि सामान्य अवस्थामा दैनिक तीन सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको तामाङले बताए ।

 

पर्यटकीय क्षेत्र घोषणापछि देशविदेशमा ठोरीको प्रचारप्रसार भएको र पर्यटकहरुको आवागमन पनि बढेको उनको भनाइ छ । दुई वर्षअघिसम्म पर्सा जिल्लाकै सबैभन्दा दुर्गम क्षेत्रका रुपमा रहेको ठोरी हुलाकी सडक निर्माणपछि सदरमुकाम वीरगन्जसँगको सडक सम्पर्कमा जोडिएका कारण आवतजावतमा पनि सहज भएको छ ।

 

ठोरी–हुलाकी सडकखण्डमा पर्ने ठुटेखोला पुलमा २० फिट अग्लो स्थानमा १२ वटा राष्ट्रिय झन्डा फर्फराएको छ । पर्यटन प्रवद्र्धनको आधार, सीमा विवादमा जित हात पारेको भूमि, ठोरीको प्रमुख भारतीय प्रवेशद्वार र स्वाभिमानमा अडिग आमनेपाली जनताप्रति सकारात्मक सन्देश पुगोस् भन्ने उद्देश्यले १२ वटा नेपाली राष्ट्रिय झन्डा फहराइएको उनको भनाइ छ ।

 

तारा गाउँ विकास समिति काठमाडौँको प्राविधिक सहयोगमा ठोरी गाउँपालिका–१, तीनघरेको मगर समुदायले १३ घरमा होमस्टे सञ्चालनमा ल्याएका छन् । जातीय वेशभूषा, भाषा, कला र संस्कृतिको धनिका रुपमा मानिने मगर समुदायले सञ्चालन गरेको होमस्टेमा बास बस्न आउने पर्यटकलाई मगर संस्कृति झल्कने मारूनी, सोरठीलगायतको गीत तथा नृत्यले मनोरञ्जन प्रदान गर्ने गरेको होमस्टेका अध्यक्ष चेतबहादुर थापाले बताए ।

 

भान्सामा स्थानीय उत्पादनका परिकार पाक्ने भएकाले आन्तरिक पर्यटक आकर्षित हुने गरेको उनले बताए । ग्रामीण पर्यटन विकासको उच्च सम्भावना बोकेको मगर टोलमा पर्यटक भित्र्याउन होमस्टे सञ्चालन गरिएको भए पनि स्तरीय सडक नहुँदा पर्यटकलाई मात्रै नभई आफूहरुलाई पनि समस्या हुने गरेको उनले बताए ।

 

ठोरी गाउँपालिकाकै वडा नम्बर–५, सुवर्णपुरमा विगत केही वर्षदेखि तामाङ समुदायको बाहुल्य रहेको बस्तीमा होमस्टे सञ्चालनमा छन् । यसबाहेक पनि ठोरीलाई चीन–भारत जोड्ने सम्भाव्य नाका (केरूङ–ठोरी) का रुपमा पनि हेरिएको छ । यिनैलाई दृष्टिगत गरेर यहाँ सुविधा सम्पन्न होटल–रिसोर्ट खुल्न थालेका छन् ।

 

भर्खरै मात्र ठोरी–२ मा ‘ठोरी जंगल रिर्सोट’ संचालनमा आएको छ । ठोरी गाँउपालिकाका अध्यक्ष पिएल श्रेष्ठले मधेस प्रदेशकै एक मह¤वपूर्ण पर्यटकीय क्षेत्र ठोरी राज्यको सधैं उपेक्षामा पर्दै आएको बताए । ठोरीमा हेर्न लायक ५० भन्दा बढी पर्यटकीय स्थलहरु छन् ।

 

पटेर्वासुगौली गाउँपालिकामा पर्ने बाबा दूधेश्वरनाथ महादेव भाठाधाम धार्मिक पर्यटकीय क्षेत्र भएकोले सो क्षेत्रमा वैशाख, साउन र माघ महिनामा लाग्ने मेलामा स्वदेश तथा छिमेकी देश भारतबाट लाखौँ भक्तजन आउने गर्दछन् ।



सम्बन्धित
Loading...