नवलपुरका दश मतदान स्थल अतिसंवेदनशिल


 



 

नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरका १० वटा मतदान स्थल अतिसंवेदनशिलमा राखिएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाका मतदान स्थलको अवस्था विश्लेषण शुरु गरिएको छ ।

 

जिल्ला प्रशासन कार्यालयले जिल्लामा रहेका मतदान स्थलको सुरक्षाका दृष्टिले लेखाजोखा सुरु गरको छ । सोहि आधारमा जिल्लाका १० मतदान स्थल अतिसंवेदनशिलमा राखिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

 

निर्वाचनमा मतदान स्थलमा आवश्यक सुरक्षा प्रबन्धनका लागि लागि जिल्लामा रहेका १ सय १३ मतदान स्थललाई तीन तहमा बाँडिएको छ । जस अन्र्तगत १० वटा मतदान स्थललाई अतिसंवेदनशीलमा राखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

 

भौगोलिक विकटता, विगतको सुरक्षा विश्लेषण, राजनीतिक दलबीचको प्रतिस्पर्धा, संचार, ‘रेस्पोन्स टाइम’, सामाजिक संरचना आदिको आधारमा जिल्लाका १० वटा मतदान स्थललाई अति संवेदनशिलमा राखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । ३८ वटा मतदान स्थललाई संवेदनशिलमा राखिएको छ भने ६५ वटा मतदान स्थललाई सामान्यमा राखिएको उहाँले बताउनुभयो ।

 

अति संवेदनशिल र संवेदनशिल रुपमा वर्गीकरण गरिएका मतदान स्थलमा सोही अनुसार सुरक्षा प्रबन्ध मिलाइने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । जिल्लामा रहेका सम्पूर्ण मतदान स्थलको केही दिनमा निरीक्षण गर्ने समेत उहाँले बताउनुभयो । सोही अनुसार स्थानीय तहको निर्वाचनको दिन मतदान स्थलको सुरक्षा , मतपेटिका गणना स्थलसम्म सुरक्षित रुपमा लैजाने योजना सहित सुरक्षा प्रबन्ध गरिने उहाँले बताउनुभयो ।

 

नवलपुरमा १ सय १३ मतदान स्थल र २ सय ९९ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार नवलपुरमा २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पुरा हुने मतदाताको संख्या २ लाख ५४ हजार ६१५ रहेको छ । जसमा पुरुष १ लाख २१ हजार ३८ ,महिला १ लाख ३३ हजार ५७३ र अन्य चार जना मतदाता रहेका छन् ।






सम्बन्धित
Loading...