बिहे गर्छु भन्दै महिलासँग ४२ लाख रुपैयाँ ठग्ने एक जना पक्राउ

काठमाण्डाै – एक महिलालाई बिहे गर्ने प्रलोभन देखाएर विभिन्न बहानामा ४२ लाख रुपैयाँभन्दा धेरै रकम ठगी गर्ने एक जना काठमाण्डौबाट पक्राउ परेका छन् ।
विभिन्न प्रलोभनमा पारेर एक महिलालाई ४२ लाख ३४ हजार रुपैयाँ ठगी गर्ने रामेछापको साँघुटार नगरपालिका घर भइ काठमाण्डौ बस्ने ५२ वर्षका लोकबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
श्रेष्ठले महिलालाई बिहे गर्छु भनेर विश्वासमा लिइसकेपछि बिरामी परेकाले उपचार खर्च, झारफुक खर्च लगायतका बहानामा महिलासँग पैसा असुलेको प्रहरीले जनाएको छ ।
स्थानीय तह चुनावका लागि १ करोड ९४ लाख थान मतपत्र छाप्ने काम सुरु

आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि एक करोड ९४ लाख थान मतपत्र छपाइको काम साेमवारदेखि सुरु भएको छ ।
निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आज साेमवार प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइको काम सुरु भएको जानकारी दिए । मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार जना भए पनि आठदेखि २५ प्रतिशतसम्म जगेडा राख्नुपर्ने भएकाले एक करोड ९४ लाख थान छाप्नुपरेको प्रवक्ता शर्माले बताए।
मतपत्रमा सबैभन्दा धरै काठमाण्डौको मतपत्र ५६ लहरको हुने र सबैभन्दा कम डोल्पाको मतपत्र १६ लहरको हुने प्रवक्ता शर्माले बताए। दुर्गममा ढुवानीको समस्या हुने र समय लाग्ने भएकाले पहिला दुर्गमको मतपत्र छापिसकेपछि मात्रै सुगम जिल्लाका लागि मतपत्र छापिने आयोगले जनाएको छ ।
आयोगले देशका विभिन्न ठाउँमा चुनावसँग सम्बन्धित विभिन्न प्रशिक्षण सम्पन्न गरेको पनि जानकारी दिएको छ ।
यसैबीच निर्वाचन आयोगले विभिन्न दल र उम्मेदवारलाई मतदाता नामावली उपलब्ध गराउने शुल्क र प्रक्रिया पनि तय गरेको छ । दलको आधिकारिक पत्रका आधारमा देशैभरका मतदाताको नामावली निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट उपलब्ध गराउने र यसका लागि सात हजार रुपैयाँसहित निवेदन दिनुपर्नेछ । यस्तै कुनै प्रदेशका मतदाताको नामावलीका लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ ।
यस्तै जिल्लामा दल वा उम्मेदवारको सिफारिसका आधारमा तीन हजार रुपैयाँ तिरेर मतदाता नामावली पाइनेछ भने कुनै पालिकाभरका मतदाताको नामावलीका लागि एक हजार र वडाका मतदाताको नामावलीका लागि पाँच सय रुपैयाँ तिर्नुपर्नेछ । मतदाताको विद्युतीय प्रति मात्रै दिइने आयोगले जनाएको छ ।