स्थानीय तह निर्वाचनः मध्यविन्दु नगरपालिकाको मेयरका आकांक्षी बढ्दै




तिर्थराज डुम्रे – 
नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाको नेतृत्वका लागि प्रमुख राजनीतिक दलका जिल्ला तथा पालिका तहका नेताहरु आकांक्षी देखिएका छन् । २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको टिकटका लागि आकांक्षीहरुले आफ्नो पार्टीभित्र लबिइङ थालेका छन् ।



मध्यविन्दु नगरपालिकामा मुलतः नेपाली कांग्रेस र नेकपा एमाले बीच चुनावी प्रतिस्पर्दा हुने देखिन्छ । यि दुई राजनितिक दलसंगै माओवादी केन्द्र र एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा समेत नगर प्रमुखको टिकटको लागि नेताहरुले पार्टी भित्रको लबिइङलाई जारी राखेका छन् ।
गत स्थानीय तह निर्वाचनमा कांग्रेस बिजयी भएको यस नगरपालिकामा कांग्रेसबाट मात्रै करिव एक दर्जन नेताहरुले आकांक्षा व्यक्त गरेका छन् । सत्ता गठबन्धनमा रहेका दलहरु बीच चुनावी गठबन्धनको चर्चा भइरहदाँ मध्यविन्दु नगरपालिकामा भने कांग्रेस नेतृत्व गठबन्धन निर्माणमा इच्छुक देखिदैन ।
मध्यविन्दु नगरपालिकामा कांग्रेस बाहेकका दलहरुबीच गठबन्धन बन्न सक्ने चर्चा पनि रहेको छ । एमालेले मध्यविन्दु नगरपालिकामा आफ्नो नेतृत्व स्थापित गर्न रणनीतिक रुपमा पार्टी प्रवेश, चुनावी तालमेल लगायत चुनाव लक्षित कार्यक्रमलाई तिव्रता दिइरहेको छ ।
कांग्रेसबाट दश जना आकांक्षी गत स्थानीय तह निर्वाचनमा मध्यविन्दु नगरपालिकामा जित निकालेको नेपाली कांग्रेसबाट वर्तमान मेयर चन्द्र बहादुर राना सहित करिव एक दर्जन नेताहरु आकांक्षी देखिएका छन् ।
नेपाली कांग्रेस नवलपुरको जिल्ला अधिवेशनमा पार्टी नेतृत्वले जारी गरेको लिस्ट बाहिरबाट उम्मेदवारी दिएर जिल्ला उपसभापतिमा निर्वाचित हुनु भएका राना यस पटक पनि मेयर पदका बलियो दावेदारको रुपमा कांग्रेसवृत्तमा लिएको छ ।
राना संगै मध्यविन्दु नगरपालिकाका उपमेयर ओमकुमारी महतो मेयर पदको आकांक्षी हुनुहुन्छ । पाँच वर्ष उपमेयरको रुपमा प्राप्त गरेको कार्यअनुभवलाई मेयर पदमा बसेर कार्य गर्ने अवसरको रुपमा उहाँले आफ्नो उम्मेदवारी प्रस्तुत गर्नु भएको छ ।
गत स्थानीय तह निर्वाचनमा मेयरको टिकट पाएर अन्तिम समयमा टिकट खोसिएका सुर्य गुरुङ्गले यस पटक पनि मेयर पदको आकांक्षी रहेको बताउनुभयो । कांग्रेस क्षेत्रीय अधिवेशनमा सभापति पदमा बराबर मत आएपछि अर्को आकांक्षीलाई पहिलो दुई वर्ष कार्यकाल सञ्चालन गर्ने सहमति गर्नुभएका गुरुङ्गले यस पटक मेयर पदको लागि आफ्नो लबिइङ जारी राख्नु भएको छ ।
नेपाली कांग्रेस नवलपुरका जिल्ला उपसभापति उदयराज अर्यालले सामाजिक सञ्जालबाट नै आफ्नो उम्मेदवारी रहने उल्लेख गरि सक्नु भएको छ । प्रदेश निर्वाचन क्षेत्र सभापति कृष्ण तिवारी र पार्टी नगर सभापति दोमन भण्डारीले पार्टी नेतृत्व समक्ष आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै लबिइङ जारी राख्नु भएको छ । कांग्रेस नेता विष्णु कुमार कार्कीले यस पटकको स्थानीय तह निर्वाचनमा तिवारीलाई मेयर टिकटको लागि लबिइङ गरिरहेको चर्चा समेत कांग्रेसवृत्तमा छ ।

यस्तै भरत भुषाल, श्रीधर शर्मा, चेतन पौडेल र कमल भट्टराईले मेयर पदमा आकांक्षा व्यक्त गर्नु भएको छ । उहाँहरुले आफ्नो उम्मेदवारी मेयर पदमा रहने बताउनुभयो । अधिवक्ता समेत रहनु भएका श्रीधर शर्माले नगर स्थापना देखि खेलेको भूमिकाको कारण यस पटक मेयर पदमा आफ्नो उम्मेदवारी रहने बताउनुभयो । भरत भुषाल, चेतन पौडेल र कमल भट्टराईले पनि मेयर पदको लागि लबिइङ गरिरहनु भएको छ ।

एमालेबाट ३ जनाको चर्चा :

मुलुकको सबभन्दा ठूलो दल नेकपा एमालेबाट मध्यविन्दु नगरपालिकाको मेयरका लागि आकांक्षा गर्ने उम्मेदवारहरुको संख्या बढ्ने क्रममा रहेको छ । गत निर्वाचनमा एमालेबाट मेयरका उम्मेदवार रहनु भएका हाल एमाले जिल्ला कमिटी सचिव भिमलाल अधिकारी यस पटकको निर्वाचनमा एमालेबाट आकांक्षी हुनुहुन्छ । पार्टीलाई पालिकाको नेतृत्वमा बिजयी बनाउन पार्टी भित्र साँझा भावनाको बिकास गरेर उम्मेदवार चयन हुने उहाँले बताउनुभयो ।
एमालेबाट मध्यविन्दु नगरपालिकाको नगर प्रमुखमा हाल मध्यविन्दु–७ का वडा अध्यक्ष तथा पार्टी संघिय निर्वाचन क्षेत्र नं. २ का संयोजक अमृत प्रसाद ज्ञवाली र एमाले मध्यविन्दु नगर कमिटी इञ्चार्ज बाबुराम पाण्डेले आफ्नो आकांक्षा पार्टी नेतृत्वमा प्रस्तुत गरेको बताउनुभयो । उहाँहरुले आफ्नो टिकटको लागि लबिइङ गरिरहनु भएको छ । एमालेले यस पटक मध्यविन्दु नगरपालिकामा अन्य राजनितिक दलहरुसंगको गठबन्धन निर्माणको प्रयास गरिरहेको चर्चा समेत रहेको छ ।

माओवादी केन्द्रबाट खनाल, भुसाल र पराजुलीको चर्चा

मध्यविन्दु नगरपालिकामा माओवादी केन्द्रबाट सम्भावित उम्मेदवारमा सुस्मा खनाल, तारा भुसाल र केदार पराजुलीको नाम मेयर पदमा चर्चामा रहेको छ । माओवादी केन्द्र प्रदेश कमिटी सदस्य रहेका खनाल, भुसाल र पराजुली मध्य एक जना मेयर पदको उम्मेदवार बन्न सक्ने चर्चा अहिले भइरहेको छ ।
केही समयदेखि पार्टीमा निस्कृय देखिएका पराजुलीले बिहिबार मात्रै सामाजिक सञ्जालमा एक पोष्ट गर्दै पार्टी गतिविधिमा आफु सक्रिय भएको उल्लेख गर्नु भएको छ । पार्टी नेतृत्वले दिने जिम्मेवारी बहन गर्ने उहाँले बताउनुभयो । सम्भावित चुनावी गठबन्धन पस्चात आकांक्षि उम्मेदवारहरु बढ्न सक्ने माओवादी निकट व्यक्तिहरु बताउछन् ।
खनाल यस अगाडीको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट मेयर पदको उम्मेदवार हुनुहन्थ्यो ।
नेकपा एसबाट महतो
नेकपा एकीकृत समाजवादीका तर्फबाट मध्यविन्दु नगरपालिकाको मेयर पदमा पार्टी जिल्ला उपाध्यक्ष गणेशमान महतो देखिनु भएको छ । चुनावी गठबन्धनको आसमा रहेको एसले केन्द्रीय निर्णय अनुसार आफ्नो चुनावी कार्यक्रमलाई अगाडी बढाउने योजना बनाएको एस निकट स्रोतले बतायो ।



सम्बन्धित
Loading...