चितवनका सातै पालिकामा गठबन्धन ! संयोजन कांग्रेसको पालिका सभापतिले गर्ने

चितवनमा हाल सरकारमा रहेका दलहरुले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नै गर्ने गरी निर्णय गरेका छन् । सोमबार नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको गठबन्धनमा रहेका दलहरुको जिल्लास्तरीय बैठकले जिल्लाका सातवटै पालिका र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
चुनावी तालमेलको सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरी छलफल प्रक्रिया अगाडि बढाउनेसमेत निर्णय भएको कांग्रेस चितवनका सभापति खनालले जानकारी दिए । उनका अनुसार संयुक्त संयन्त्रको संयोजन भने नेपाली कांग्रेसको पालिका सभापतिले गर्ने निर्णय भएको छ ।
गठबन्धनमा सहभागी दलहरुबीच गठबन्धनको मर्म र भावनाअनुरुप एकापसमा सम्मान तथा हार्दिकताको विकास गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने नेकपा (एकीकृत समाजवादी) चितवनका उपाध्यक्ष कृष्णराज न्यौपाने ‘लब्ली’ले जानकारी दिए ।
केन्द्रको परिपत्रअनुसार दलगत वस्तुस्थितिका बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट एक/एक जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय भएको उनले बताए । सोमबार बसेको संयुक्त बैठकमा कांग्रेस चितवनका सभापति खनालसहित नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादी चितवनका इञ्चार्ज कृष्ण खनाल, जनता समाजवादी चितवनका अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष डम्बर पुरी सहभागी थिए ।
सहभागी पार्टी प्रतिनिधिहरुले हस्ताक्षरसहितको बैठकमा भएका निर्णयबारे विज्ञप्तिसमेत प्रकाशित गरिसकेका छन् ।नेकपा एकीकृत समाजवादी पार्टीले भने बैठकपछि पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेरै बैठकमा भएका निर्णयबारे जानकारी गराएको थियो ।