देवचुलीमा मेयरः यस्ता छन् ३ ठूला दलका आकांक्षी
रामकुमार श्रेष्ठ –
नवलपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पनि त्यसको रस्साकस्सी शुरु भएको छ ।
देवचुली नगरपालिकामा नगर प्रमुखमा ३ ठूला दलका स्थानीय नेताहरुले नगरप्रमुख पदमा आकांक्षा देखाउने क्रम बढेको छ । त्यसो त कतिपयले सामाजिक सञ्जाल मार्फत नै आधिकारिक घोषणा गरेका छन् भने कतिपयले चिया पसल, पार्टी कार्यकर्ता माझ त कतिपयले आफूभन्दा उपल्लो तहका नेताहरुलाई भेटेर आकांक्षा प्रकट गर्ने गरेका छन् ।
यस अघि नगर प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमालेले जित हात पारेको यस नगरपालिकामा काँगे्रस लगायत सत्ता गठबन्धन एकातिर र एमाले एकातिर भएर निर्वाचनमा होमिए थप कडा प्रतिप्रर्धा हुने देखिएको छ ।
यहाँ काँग्रेसबाट निर्वाचित नगर प्रमुख पूर्णकुमार श्रेष्ठले आफू पुन नगरप्रमुख नदोहोरिने सार्वजनिक रुपमै घोषणा गरेपछि काँग्रेस भित्रै पनि नगर प्रमुख पदका लागि आकांक्षीहरु बढ्दो छ । काँग्रेसबाट एक दर्जन बढी आकांक्षी देखिएका छन् ।

काँगेंसबाट आकांक्षीहरु
काँग्रेसबाट यहाँ अहिले सबैभन्दा बढी विष्णु भुसाल, भोजेन्द्र रायमाझी, अशोक वस्ताकोटी, डिल्लीराम कडरिया, धर्म बस्या, दया तिवारी, रेशम सापकोटा, रविनाथ सापकोटा लगायतको र्चा रहेको छ ।
विष्णु भुसाल सरकारी कर्मचारी हुन । उनी अहिले एउटा मन्त्रालयमा कार्यरत छन् । उनको टिकट पक्का भए उनले सरकारी कर्मचारीबाट राजिनामा दिएर नेपाली काँग्रेसबाट नगरप्रमुख पदमा उमेदवारी दिने तयारीमा छन् ।
त्यसो त विष्णु भुसाल यस अघि देवचुली नगरपालिकामै प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् । उनलाई देवचुलीका केही भुसाल आफन्तहरुको पनि थप समर्थन रहेको छ ।
त्यसैगरी काँग्रेसका भोजेन्द्र रायमाझी क्रसर व्यसायी हुन् । उनी पनि काँग्रेसबाट नगर प्रमुख पदका आकांक्षी हुन् ।
त्यसैगरी अशोक वस्ताकोटी, डिल्लीराम कडरिया, धर्म बस्याल, दया तिवारी, रेशम सापकोटा, रविनाथ सापकोटा पनि काँग्रेसबाट नगरप्रमुख पदका दावेदार आकांक्षीहरु हुन् । डिल्लीराम कडरिया देवचुली नेपाली काँग्रेस नगर सभापति हुन् भने रविनाथ सापकोटा काँग्रेस देवचुली नगर सभापतिमा कडरियासँग मत बराबर भई चिठ्ठा प्रणालीमा पराजितत भएका हुन् ।
एमालेका आकांक्षीहरु
नगर उपप्रमुख पदमा एमालेले जित हात पारेको देवचुली नगरपालिकामा नगर प्रमुखमा राम्रो क्षवि भएका उमेदवार उठाए एमालेले सजिलै जित हात पार्न सक्छ भन्ने पक्षमा यहाँका नेकपा एमाले रहेका छन्, त्यसकारण पनि यहाँ नगरप्रमुखमा एमालेको पनि रस्साकस्सी पर्ने देखिन्छ । यहाँ एमालेबाट १० बढी आकांक्षी देखिएका छन् ।
देवचुली नगरपालिकामा नगरउपप्रमुख पार्वता तिवारीले पनि एमालेबाट नगर प्रमुखमा आकंक्षा देखाएका छन् । त्यसैगरी प्रगतिनगर खानेपानीका अध्यक्ष खिमानन्न भुसालले पनि यस अघि देखि नै आफू नगरप्रमुख पदका दावेदार रहेको प्रस्तुत गर्दै आएका थिए ।
एमालेबाटै भिमसेन माविका प्रधानाध्यापक रामप्रसाद शर्माले पनि नगरप्रमुख पदमा उमेदवारी दिने आकांक्षा देखाएका छन् । त्यसैगरी एमालेबाटै होमनाथ जैसी, हरि न्यौपाने, धर्मदत्त भुसालले पनि आकांक्षा देखाएका छन् ।
जैसी पत्रकार पनि हुन भने हरि न्यौपाने नेकपा क्रान्तिकारी माओवादी परित्याग गरि एमालेमा प्रवेश गरेर २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट उमेदवार हुन् । न्यौपाने नेपाली काँग्रेसका पूर्णकुमार श्रेष्ठसँग पराजित भएका थिए ।
माओवादी केन्द्रका आकांक्षीहरु
देवचुली नगरपालिकामा यस अघिको स्थानीय तहको निर्वाचनमा १ वडामा जित हात पारेको नेकपा माओवादी केन्द्रबाट पनि यहाँ नगर प्रमुख पदमा ४ जना आकांक्षी देखिएका छन् ।
स्रोतका अनुसार माओवादी केन्द्रबाट सत्यनारायण भुसाल, लोकप्रसाद भुर्तेल, प्रेमा खनाल र नेत्र पाण्डेको नाम चर्चामा रहेको छ ।
नवलपुरमा काँग्रेस लगायतका सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएका कारण पनि माओवादी केन्द्रले देवचुली नगरपालिकामा गठबन्धनबाटै मेयर वा उपमेयर पदमा दावी गर्न सक्ने सम्भावना प्रवल रहेको छ ।